२ फागुन, जनकपुरधाम। सीके राउत नेतृत्वको जनमत पार्टी का अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। उनले संसदीय पदको राजनीतिबाट टाढा रहने तर संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राउतले लेखेका छन्, “संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने। पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने।”
उनले आफू संसदीय पदको राजनीतिबाट टाढा रहने स्पष्ट पार्दै भनेका छन्, “म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु। तर यसको अर्थ राजनीतिबाट बीचमै गायब भएको होइन।”
राउतले राजनीतिमा सक्रिय रहँदै आफ्नो सिद्धान्त र एजेण्डालाई अघि बढाउने र जनताको सेवामा निरन्तर संघर्षरत रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट उदाएको जनमत पार्टी त्यसबेला राष्ट्रिय दल बनेको थियो। प्रत्यक्षतर्फ अध्यक्ष राउत आफैंले चुनाव जितेका थिए भने समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर पार्टीले थप पाँच सांसद सिट प्राप्त गरेको थियो।
तर २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीले एक सिट पनि जित्न सकेन। सप्तरी–२ बाट प्रतिस्पर्धा गरेका अध्यक्ष राउत रामजी यादव सँग पराजित भएका थिए। प्रत्यक्षतर्फ अन्य उम्मेदवारले पनि जीत हासिल गर्न सकेनन् भने समानुपातिकतर्फ पनि पार्टीले थ्रेसहोल्ड कटाउन सकेन।
राउतले अब संसदीय राजनीतिबाट टाढा रहेर पार्टीलाई आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि तयार गर्ने बताएका छन्। उनले भनेका छन्, “जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनका लागि तयारी गराउन प्रतिबद्ध छु।”
उनले आफू सधैं जनताको बीचमा रहने, हरेक मोर्चा र संघर्षमा उभिने तथा अधिकार र पहिचानको लडाइँमा निरन्तर भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।



















