३० फागुन, काठमाडौ । — प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक पराजय भोगेपछि नेपाली कांग्रेस भित्र गम्भीर निराशा र अन्योल देखिएको छ। पार्टी सभापति गगन थापा सहित आठ जना पदाधिकारी नै निर्वाचनमा पराजित भएपछि कांग्रेसभित्र समीक्षा कहाँबाट सुरु गर्ने भन्ने विषयमै मतभेद देखिएको हो।
निर्वाचन परिणाम सार्वजनिक भएको केही दिन बितिसक्दा पनि पार्टीले औपचारिक समीक्षा बैठकसमेत बस्न सकेको छैन। हारको कारण र जिम्मेवारीबारे पार्टीभित्र दुई धार स्पष्ट रूपमा देखिएका छन्।
एक पक्षले चुनावी हारको नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले पदबाट राजीनामा दिनुपर्ने र विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग अघि सारेको छ। उनीहरूका अनुसार नेतृत्व परिवर्तन नगरी पार्टीलाई पुनः सशक्त बनाउन कठिन हुने तर्क गरिएको छ।
तर अर्को पक्षले भने हारको सम्पूर्ण दोष वर्तमान नेतृत्वलाई मात्र दिन नमिल्ने बताउँदै गगन थापाको बचाउ गरेको छ। उनीहरूका अनुसार अघिल्लो नेतृत्वको कार्यशैली, संगठनात्मक कमजोरी तथा पछिल्लो समय चर्चामा आएको जेनजी आन्दोलनजस्ता गतिविधिहरूले पनि चुनावी परिणाममा प्रभाव पारेको दाबी गरिएको छ।
पार्टीभित्रको यही मतभेदका कारण समीक्षा प्रक्रिया नै सुरु हुन नसकेको नेताहरू बताउँछन्। राजनीतिक विश्लेषकहरूका अनुसार हारपछि स्पष्ट रणनीति तय गर्न नसक्नु र आन्तरिक विवाद बढ्नुले कांग्रेसलाई अझ कमजोर बनाउने जोखिम देखिएको छ।
ऐतिहासिक पराजयपछि नेतृत्व, संगठन र रणनीतिबारे स्पष्ट निर्णय लिन नसक्दा कांग्रेस अझै अन्योलपूर्ण अवस्थामै रहेको छ।

















