इन्धन र ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह

२७ फागुन , काठमाडौ । — नेपाल आयल निगम लिमिटेड ले पेट्रोलियम पदार्थ र एलपी ग्यासको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
निगमले बुधबार  प्रेस विज्ञप्ति जारी गर्दै केही ग्यास उद्योगले ग्यास आपूर्तिमा प्रभाव पार्ने गतिविधि गरिरहेको उल्लेख गर्दै आम उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो।
निगमका अनुसार हाल मध्यपूर्व क्षेत्रमा देखिएको समस्याका कारण नेपालमा इन्धन आपूर्तिमा तत्काल प्रभाव नपरेको भए पनि भविष्यमा समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उपभोक्तालाई आवश्यक मात्रामा मात्र पेट्रोलियम पदार्थ तथा ग्यास खरिद गर्न आग्रह गरिएको छ।
निगमले मासिक एक सिलिन्डर खपत हुने अवस्थामा थप सिलिन्डर नथप्न, अनावश्यक भण्डारण नगर्न र ग्यासको सट्टा सकेसम्म विद्युत् प्रयोग बढाउन पनि सुझाव दिएको छ। साथै सवारी साधन प्रयोग गर्दा ‘राइड सेयरिङ’ अपनाउन र बिजुलीका लागि जेनरेटर जस्ता उपकरण कम प्रयोग गर्न आग्रह गरिएको छ।
निगमले इन्धन तथा एलपी ग्यासको आयात र वितरण हाल नियमित रूपमा भइरहेको जनाएको छ। तर अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्ड गर्ने, बढी मूल्यमा बिक्री गर्ने वा नयाँ सिलिन्डरको बजारीकरण गर्ने पाइए कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more