प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम चैत पहिलो साता राष्ट्रपतिसमक्ष पेस हुने

२७ फागुन,काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम चैत पहिलो साताभित्र रामचन्द्र पौडेल समक्ष पेस गर्ने तयारी गरेको छ। समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै आयोग प्रतिवेदन तयार पार्ने काममा जुटेको हो।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार चैत ५ देखि ७ गतेभित्र राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन पेस गर्ने तयारी भइरहेको छ।
यसपटक समानुपातिकतर्फ ४७ वटा दलले प्रतिस्पर्धा गरे पनि न्यूनतम आवश्यक मत (थ्रेसहोल्ड) पार गर्ने दलको संख्या ६ मा सीमित भएको छ। प्रारम्भिक विवरणअनुसार थ्रेसहोल्ड कटाउन करिब तीन लाख १५ हजार मत आवश्यक परेको थियो। प्रत्यक्षतर्फका १६५ सिटको मतपरिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ।
घोषित नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १२५ सिट जित्दै पहिलो स्थान हासिल गरेको छ। त्यस्तै नेपाली कांग्रेस ले १८ सिट, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ९ सिट र नेपाल कम्युनिस्ट पार्टी ले ७ सिटमा विजय हासिल गरेका छन्। श्रम संस्कृति पार्टी ले ३ सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ले १ सिट जितेको छ। स्वतन्त्रतर्फ भने महावीर पुन निर्वाचित भएका छन्।
यता धनुषा निर्वाचन क्षेत्र नं. १ को नतिजा भने अदालतबाट निरूपण हुने भएको छ। निर्वाचन आयोगले फागुन १८ गते किशोरी साह कमल को उम्मेदवारी खारेज गरेपछि घण्टी चुनाव चिन्हमा परेको मत बदर हुने निर्णय गर्दै मतगणना गरेको थियो।
यस विषयमा परेको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालत का न्यायाधीश नृपध्वज निरौला को इजलासले फागुन २९ गतेका लागि पेसी तोकेको छ। अदालतले आयोगको निर्णयको सक्कलसहित दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more