१४ फागुन, काठमाडौ । २३ भदौमा भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले निहत्था प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको दाबी बीबीसीले गरेको छ।
BBC World Service ले तयार गरेको वृत्तचित्र Shot Like the Enemies: Inside Nepal’s Gen Z Uprising मा प्रहरीको आन्तरिक दस्तावेज समावेश गरिएको जनाइएको छ। उक्त दस्तावेजअनुसार कल साइन ‘पिटर वान’ बाट कफ्र्यु लागेको करिब १० मिनेटपछि प्रहरी अधिकृतहरूलाई ‘आवश्यक बल प्रयोग गर्न’ निर्देशन दिइएको उल्लेख छ। सो दिन दिउँसो १२:३० बजे कफ्र्यु लगाइएको थियो।
बीबीसीले स्रोतलाई उद्धृत गर्दै ‘पिटर वान’ कल साइन तत्कालीन आईजीपी खापुङले प्रयोग गर्दै आएको दाबी गरेको छ। कफ्र्यु लागेपछि संसद् भवनअगाडि भएको झडपमा १९ जनाको ज्यान गएको थियो।
वृत्तचित्रमा नेपाल प्रहरीका प्रवक्तालाई उद्धृत गर्दै भनिएको छ, “खापुङले गोली चलाउन आदेश दिएको अस्वीकार गरेका छैनन्। नेपालका प्रमुख सुरक्षा बल मिलेर बनेको सुरक्षा कमिटीबाट आदेश आएको हो। कमिटीको निर्णयअघि आईजीपी खापुङले यस्तो कुनै आदेश दिएका थिएनन्।”
बीबीसीका अनुसार खापुङसँग सम्पर्क गर्दा उनले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
बीबीसीले गरेको भिडियो परीक्षणमा १७ वर्षीय श्रीयाम चौलागाई निहत्था रहेको उल्लेख गरिएको छ। विद्यार्थी पोशाकमै आन्दोलनमा सहभागी भएका उनी गोली लाग्नु अघि घटनास्थलबाट बाहिरिने प्रयासमा रहेको दाबी वृत्तचित्रमा गरिएको छ।
२३ भदौको घटनाबारे छानबिन गर्न अन्तरिम सरकारले गठन गरेको उच्चस्तरीय आयोगको प्रतिवेदन सार्वजनिक हुन बाँकी छ। हालसम्म घटनाका लागि कसैलाई जिम्मेवार ठहर गरिएको छैन।
जेनजी आन्दोलनपछि मुलुकमा राजनीतिक परिदृश्य फेरिएको छ। आगामी २१ फागुनमा निर्वाचन हुने तयारी भइरहेका बेला उक्त घटनाबारे आएको अन्तर्राष्ट्रिय खुलासाले राजनीतिक तथा सुरक्षा निकायमाथि थप दबाब सिर्जना गरेको छ।

















