१३ फागुन, काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की ले आसन्न निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे सबै सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएकी छन्।
मंगलबार साँझ बालुवाटारमा आयोजित बैठकमा सुरक्षा निकायहरूले हालसम्म कुनै ठूलो सुरक्षा चुनौती नरहेको रिपोर्ट प्रस्तुत गरेका थिए। ब्रिफिङपछि प्रधानमन्त्री कार्कीले हालसम्मको सुरक्षा अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन निर्देशन दिइन्।
बैठकमा नेपाली सेना ले देशभर २७५ स्थानमा बम डिस्पोजल टोली स्ट्यान्डबाइ राखिएको, आवश्यक परे हेलिकप्टर तयारी अवस्थामा राखिएको तथा मतदान सामग्री ढुवानीका लागि विशेष व्यवस्था गरिएको जानकारी दिएको थियो। सेनाले हालसम्म १३ स्थानमा शंकास्पद वस्तु डिस्पोज गरिसकेको पनि जनाएको छ।
सुरक्षा निकायले अहिलेको मुख्य चुनौतीका रूपमा सामाजिक सञ्जालमा फैलिने ‘मिसइन्फरमेशन’ र ‘डिसइन्फरमेशन’ लाई औंल्याएका छन्। मौन अवधिको पूर्वसन्ध्यामा यस्ता अफवाह अझ बढ्न सक्ने भन्दै त्यसबारे गहन छलफल भएको स्रोतले जनाएको छ।
यस सन्दर्भमा प्रधानमन्त्री कार्कीले आफूले समेत बारम्बार आफ्नो राजीनामासम्बन्धी झुटा समाचार पढ्नुपरेको प्रसंग उल्लेख गर्दै गलत सूचनाविरुद्ध सजग रहन आग्रह गरिन्।
ब्रिफिङमा आवश्यकता परे ३० मिनेटभित्र थप सुरक्षा बल परिचालन गर्न सक्ने र थप आवश्यकतामा ९० मिनेटभित्र बल पुग्ने व्यवस्था मिलाइएको जानकारी दिइएको थियो। साथै, गृह मन्त्रालय मा दैनिक केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने र हरेक प्रदेशमा एक–एक एआईजी तथा मन्त्रालयबाट सहसचिवस्तरीय अधिकारी खटाइने व्यवस्था गरिएको जनाइएको छ।
शंकास्पद रूपमा अत्यधिक मत खस्ने स्थानमा विशेष निगरानी राख्ने, त्यस्ता केन्द्रमा यसअघि खटिएका कर्मचारीलाई पुनः नखटाउने तथा गडबडी पाइए कडा कारबाही गर्ने तयारी गरिएको छ।
सम्भावित झडप रोक्न प्रत्येक उम्मेदवारका एक प्रतिनिधिलाई जिल्ला सुरक्षा समितिसँग प्रत्यक्ष सम्पर्कमा राख्ने तथा फरक दलका उम्मेदवारबीच प्रत्यक्ष भेट नहुने गरी घरदैलो कार्यक्रमको रुट व्यवस्थापन गरिएको सुरक्षा निकायले जनाएको छ।

















