देश एमालेले बनाउँछ’ नारासहित घोषणापत्र सार्वजनिक, युवालाई निःशुल्क इन्टरनेटदेखि १० हजार डलर कार्डसम्मको घोषणा

७ फागुन , काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ‘देश एमालेले बनाउँछ’ भन्ने नारासहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै युवापुस्तालाई लक्षित विभिन्न महत्वाकांक्षी योजना अघि सारेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणापत्रमा १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म प्रत्येक महिना १० जीबी इन्टरनेट डेटा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ। प्रविधिमा पहुँच विस्तार गर्दै युवालाई डिजिटल सीप, स्वरोजगार र उद्यमशीलतासँग जोड्ने लक्ष्य पार्टीले लिएको जनाएको छ।
घोषणापत्रअनुसार युवा तथा उद्यमीहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको ‘डलर कार्ड’ उपलब्ध गराइने योजना पनि अघि सारिएको छ। सूचना प्रविधि क्षेत्रमा अनुसन्धान, उत्पादन, विकास र निर्यात प्रवर्द्धन गर्दै स्टार्टअप व्यवसायमार्फत अन्तर्राष्ट्रिय अनलाइन कारोबार सहज बनाउन यो सुविधा ल्याइने एमालेले जनाएको छ। आर्टिफिसियल इन्टेलिजेन्स, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ र एप डेभलपमेन्टलगायत क्षेत्रमा तालिम तथा सेवा उपयोग गर्न यसले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। यस कार्यक्रममार्फत १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ।
रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा राख्दै वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ। उच्च आर्थिक वृद्धिबाट ४ लाख र सूचना प्रविधि तथा लक्षित रोजगार कार्यक्रममार्फत थप १ लाख रोजगारी सिर्जना गर्ने रणनीति अघि सारिएको छ। निजी क्षेत्रको आत्मविश्वास बढाउने लगानीमैत्री वातावरण निर्माण गर्दै वैदेशिक रोजगारीमा जाने बाध्यता घटाउने प्रतिबद्धता एमालेले जनाएको छ।
नेपाललाई लजिस्टिक हबका रूपमा विकास गर्ने, छिमेकी राष्ट्र चीन र भारतसँग जोडिने उद्योग–व्यवसायको सम्भावना उपयोग गर्ने तथा वैदेशिक लगानी आकर्षित गर्ने नीति पनि घोषणापत्रमा समेटिएको छ। टेक पार्क र इनोभेसन हब विस्तार गरी स्टार्टअप इकोसिस्टम सुदृढ बनाउने र उद्यमशीलतालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने बताइएको छ।
सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत सुशासनमा सुधार ल्याउने योजनाअन्तर्गत नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने, ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल कनेक्टिभिटी विस्तार गर्ने, नागरिक एपलाई ‘सुपर एप’का रूपमा विकास गर्ने तथा राष्ट्रिय डेटा सेन्टर र एआई केन्द्र स्थापना गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख गरिएको छ।
कृत्रिम बुद्धिमत्ता र जेनेरेटिभ एआईमा आधारित नवप्रवर्तनलाई प्राथमिकता दिँदै ‘सोभरन लार्ज ल्याङ्वेज मोडल’ विकास गर्ने तथा एआई प्रविधिलाई विभिन्न क्षेत्रमा प्रयोग गर्ने योजना एमालेले अघि सारेको छ। साथै, गलत सूचना, डिपफेक र साइबर जोखिम नियन्त्रणका लागि आवश्यक कानुनी तथा प्राविधिक संरचना निर्माण गरिने जनाएको छ।
एमालेले आफ्नो नेतृत्वमा सरकार गठन भए मन्त्रिपरिषद्को पहिलो बैठकबाटै यी योजनाहरू कार्यान्वयनका लागि निर्णय गरी स्पष्ट समयसीमा तोकिने दाबी गरेको छ। युवा, प्रविधि र रोजगारीलाई केन्द्रमा राख्दै आर्थिक समृद्धिको नयाँ आधार निर्माण गर्ने लक्ष्यसहित पार्टीले घोषणापत्र सार्वजनिक गरेको जनाएको

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more