वर्तमान व्यवस्थामै चुनाव गराए देश दुर्घटनातर्फ जान सक्छ : राजेन्द्र लिङ्देन

७ फागुन , काठमाडौ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक अवस्था र आसन्न निर्वाचन प्रक्रियाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
कोशी प्रदेशको सुनसरीस्थित चक्रघट्टीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २०८४ सालमा हुनुपर्ने संघीय निर्वाचन २०८२ मै जबरजस्ती गराइएको दाबी गरे। उनले यस्तो निर्वाचनले मुलुकको मूल समस्या समाधान नगर्ने जिकिर गर्दै वर्तमान व्यवस्थालाई निरन्तरता दिँदै चुनाव गराइए केही समयका लागि समस्या टरेजस्तो देखिए पनि दीर्घकालमा परिस्थिति झन् जटिल र भयावह बन्न सक्ने चेतावनी दिए।
लिङ्देनले देशमा कसैले पनि आफूलाई निषेधित वा बाहिर पारिएको महसुस नगर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए। उनले राजा, प्रमुख राजनीतिक दलहरू र नयाँ पुस्ताबीच व्यापक राष्ट्रिय समझदारी अपरिहार्य भएको उल्लेख गर्दै त्यस्तो सहमतिबिनाको चुनावले मुलुकलाई निकास दिन नसक्ने धारणा राखे।
प्रजातन्त्र दिवसका अवसरमा ज्ञानेन्द्र शाहले दिएको सन्देशलाई सकारात्मक सुझावका रूपमा लिन आग्रह गर्दै उनले सबै राजनीतिक दललाई देशलाई केन्द्रमा राखेर सोच्न अपिल गरे।
लिङ्देनले ‘नेपाल प्रथम, नेपाली प्रथम’ को भावनाका साथ नयाँ राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा जोड दिए। आगामी निर्वाचन देशको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालका हल्ला वा भावनात्मक लहरको आधारमा नभई गम्भीरतापूर्वक निर्णय गरेर मतदान गर्न मतदातालाई आग्रह गरे।
उनले वर्तमान व्यवस्थामै चुनाव गराइए देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिँदै समस्या केवल व्यक्तिमा मात्र नभई व्यवस्थामा समेत रहेको र त्यसमा परिवर्तन आवश्यक रहेको बताए।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more