७ फागुन , काठमाडौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख दलका शीर्ष नेतासँग चुनावी बहसमा सहभागी हुन तयार नभएको भन्ने टिप्पणीप्रति प्रतिक्रिया दिएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी बाचापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै लामिछानेले प्रश्नको सामना गर्न नसकेर बहसमा सहभागी नभएको भन्ने आरोप अस्वीकार गरे।
उनले रास्वपाले प्रश्नबाट भाग्ने राजनीति नगरेको स्पष्ट पार्दै भने, “प्रश्नको सामना गर्न नसकेर डिबेटमा भाग लिएन भन्नुपर्दैन। प्रश्नको ठेक्का कसैलाई दिएका छैनौँ।”
उनले जनताको प्रश्नको जवाफ टेलिभिजन स्टुडियोमा भन्दा प्रत्यक्ष जनताको घरदैलोमै पुगेर दिएको दाबी गरे। “जनताको प्रश्न जनतालाई हामीले जवाफ दिएका छौँ—हर जनतालाई, हर घरमा,” उनले भने।
लामिछानेले रास्वपा बलियो हुँदा लोकतन्त्र अप्ठ्यारोमा पर्ने भनेर हल्ला फैलाइएको आरोप पनि लगाए। “प्रश्नको ठेक्का र लोकतन्त्रको ठेक्का नलिए हुन्छ,” उनले भने, “विधिको शासन मानेर थिति बसाल्छौँ। गलत गर्न पाइँदैन, गलत गर्दैनौँ।”
हालै रास्वपा सभापति लामिछानेले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एमाले) (एमाले) र नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग चुनावी बहसमा सहभागी हुन तयार नभएको विषय सार्वजनिक रूपमा चर्चा हुँदै आएको छ।
यस सन्दर्भमा लामिछानेले स्थापित दलहरूजस्तै परम्परागत बहसमा मात्र सीमित नभई प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकता दिएको बताए। उनले रास्वपा सुशासन, पारदर्शिता र विधिको शासनका पक्षमा प्रतिबद्ध रहेको दोहोर्याउँदै निर्वाचनमा मतदाताले परम्परागत राजनीति र नयाँ राजनीतिक अभ्यासबीच तुलना गरेर निर्णय गर्ने विश्वास व्यक्त गरे।
चुनावी माहोल तातेका बेला प्रमुख दलका शीर्ष नेताबीच सार्वजनिक बहस हुनुपर्ने विषयमा व्यापक चर्चा भइरहेका छन्। यद्यपि, रास्वपाले भने आफूहरू जनताप्रति प्रत्यक्ष जवाफदेही रहेको र औपचारिक बहसमा सहभागी नहुनुलाई कमजोरीका रूपमा नहेर्न आग्रह गरेको छ।

















