४ फागुन , काठमाडौ । — केपी शर्मा ओलीले काठमाडौंको टुँडिखेलमा अमेरिकी सेनाको सांस्कृतिक परेड प्रस्तुतिलाई लिएर कडा आपत्ति जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले यस घटनालाई ‘सार्वभौम राष्ट्रमाथि विदेशी सेनाको नाङ्गो नाच’ भन्दै आलोचना गरेका हुन्।
हालै आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशी सेनालाई नेपाली भूमिमा यसरी प्रदर्शन गर्न अनुमति दिनु राष्ट्रको स्वाभिमानविपरीत भएको टिप्पणी गरे। उनले राष्ट्रिय गौरव र स्वाधीनताको सवालमा कुनै सम्झौता गर्न नसकिने पनि उल्लेख गरे।
तर, ओलीको यस अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनी प्रधानमन्त्री रहँदाको समयमा विदेशी सेनाका सांस्कृतिक टोलीको प्रस्तुति अवलोकन गरिरहेका पुराना भिडियोहरू पुनः भाइरल बनेका छन्। ती भिडियोहरूमा उनले संयुक्त राज्य अमेरिका, भारतलगायत विभिन्न देशका सैनिक ब्याण्डहरूको प्रस्तुति अवलोकन गरिरहेको देखिन्छ।
यससँगै आलोचकहरूले ओलीको पछिल्लो अभिव्यक्तिलाई विगतको व्यवहारसँग बाझिएको भन्दै प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई ‘राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको राष्ट्रवाद’ भन्दै टिप्पणी गरिरहेका छन्।
यद्यपि, एमालेनिकट नेताहरूले भने ओलीको भनाइलाई सन्दर्भअनुसार बुझ्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार सांस्कृतिक आदान–प्रदान र औपचारिक समारोहको सहभागिता एउटा पक्ष भए पनि खुला रूपमा विदेशी सेनाको प्रदर्शन फरक विषय भएको दाबी गरिएको छ।
यस विषयमा हालसम्म नेपाली सेना वा सम्बन्धित सरकारी निकायले औपचारिक प्रतिक्रिया दिएको छैन। टुँडिखेलमा विदेशी सेनाको सहभागितालाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा बहस भने तीव्र बन्दै गएको छ।

















