४ फागुन, काठमाडौ । — आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाले देशभर सुरक्षा सतर्कता बढाएको जनाएको छ। सेनाले निर्वाचनका क्रममा हुने कानुनविपरीतका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्दै सुरक्षामा कुनै कमजोरी हुन नदिने बताएको छ।
सेनाका अनुसार सशक्त र देखिने उपस्थितिमार्फत अवाञ्छित गतिविधि, धम्की, त्रास सिर्जना गर्ने प्रयास तथा निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न हुने तत्वहरूलाई कडा सन्देश दिइएको छ। विशेषगरी भौगोलिक रूपमा विकट, दुर्गम तथा सडक सञ्जालको पहुँच सीमित रहेका संवेदनशील क्षेत्रमा सुरक्षा प्रबन्ध सुदृढ पारिएको छ।
यस्ता क्षेत्रमा सेनाले मोटरसाइकलमार्फत ‘द्रुत गस्ती’ सञ्चालन गरेको जनाएको छ। द्रुत गस्तीले मतदान केन्द्र, बस्ती तथा रणनीतिक स्थानहरूमा निगरानी बढाउनुका साथै सम्भावित जोखिमको तत्काल मूल्याङ्कन र प्रतिक्रिया दिन सहयोग पुग्ने सेनाको दाबी छ। यस कदमले सर्वसाधारण मतदातामा सुरक्षाको प्रत्याभूति दिलाएको पनि सेनाले जनाएको छ।
सेनाले आकस्मिक विपद्, प्राकृतिक प्रकोप वा अन्य अप्रत्याशित परिस्थितिमा तत्काल उद्धार तथा प्रतिकार्यका लागि आवश्यक जनशक्ति र साधनस्रोत तयारी अवस्थामा राखिएको जानकारी दिएको छ।
मतदातालाई निर्धक्क र उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गर्दै सेनाले निर्वाचन प्रक्रिया सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

















