४ फागुन, काठमाडौं । भारत सरकारले पशुपतिनाथ मन्दिर र बैजनाथधाम (वैद्यनाथ धाम) जोड्ने नयाँ सडक करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको छ। काठमाडौंस्थित पशुपतिनाथ र भारतको झारखण्ड राज्यको देवघरमा रहेको बैजनाथधामलाई प्रत्यक्ष जोड्ने उद्देश्यले करिब २४० किलोमिटर लामो ‘पशुपतिनाथ–सुपौल–वैद्यनाथधाम करिडोर’ अघि बढाइएको हो।
भारतको केन्द्र सरकारले भागलपुर हुँदै जाने यस करिडोरका लागि प्रशासनलाई आवश्यक तयारी सुरु गर्न निर्देशन दिइसकेको छ। बिहारका सडक निर्माण मन्त्री डा. दिलीप जैसवालले गत मंगलबार विधानसभामा जानकारी दिँदै सन् २०२६/२७ को बिहार बजेटमा सडक निर्माणका लागि ८२ अर्ब ६० करोड भारु विनियोजन गरिएको बताए।
उनका अनुसार प्रस्तावित ‘पशुपतिनाथ–वैद्यनाथ हाई–स्पिड करिडोर’ काठमाडौंबाट सुरु भई भीमनगर र वीरपुर हुँदै बिहारको सुपौल जिल्लामा प्रवेश गर्नेछ। त्यसपछि मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका जिल्ला पार गर्दै झारखण्डको देवघरस्थित वैद्यनाथधामसम्म पुग्नेछ।
करिडोर सुल्तानगञ्ज–अगुवानीघाटमा गंगा नदीमाथि निर्माणाधीन पुलबाट समेत गुज्रिनेछ। करिब सात महिनाअघि बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग भेट गरी यो प्रस्ताव अघि सारेका थिए।
श्रावणी मेला र काँवर यात्राका क्रममा ठूलो संख्यामा श्रद्धालुहरू सुल्तानगञ्जबाट जल लिएर पैदल बैजनाथधाम पुग्ने गर्छन्। त्यस्तै, भारतीय तीर्थयात्रीहरू पशुपतिनाथ दर्शनका लागि नेपाल आउने गरेका छन्। करिडोर निर्माणपछि श्रद्धालुहरूको यात्रा सुरक्षित र सहज हुने तथा धार्मिक पर्यटनमा वृद्धि हुने अपेक्षा गरिएको छ।
यस करिडोरमा पैदल यात्रुका लागि विशेष ‘सर्भिस रोड’ निर्माण गर्ने योजना पनि छ, जसले नाङ्गो खुट्टा हिँड्ने श्रद्धालुहरूलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ। परियोजनाले बिहार, नेपाल र झारखण्डबीच धार्मिक पर्यटनसँगै व्यापारिक तथा आर्थिक सम्बन्धलाई पनि मजबुत बनाउने अपेक्षा गरिएको छ।
भागलपुरका जिल्ला अधिकारी (डीएम) डा. नवल किशोर चौधरीका अनुसार परियोजनाको मार्गचित्र तयार भइसकेको छ। मन्त्रालयबाट विस्तृत प्रस्ताव प्राप्त हुनासाथ कार्यान्वयन प्रक्रिया अघि बढाइने जनाइएको छ।

















