माघ १२, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विरुद्ध निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा शाहले गरेको टिप्पणी निर्वाचन आचारसंहिता विपरीत रहेको दाबी गर्दै धर्मराज तिमिल्सिनाले आयोगमा उजुरी दिएका हुन्।
उजुरीमा शाहले प्रयोग गरेका शब्द तथा अभिव्यक्तिले लोकतान्त्रिक बहसको मर्यादा नाघेको उल्लेख गरिएको छ। उजुरीकर्ताका अनुसार शाहले ओलीको पोस्टमा प्रतिक्रिया दिँदै ‘७६ जना बच्चाको हत्यारा’, ‘आतंकवादी’ र ‘देश जलाउने’ जस्ता शब्द प्रयोग गरेका छन्, जुन तथ्यहीन, घृणात्मक र मानहानिकारक रहेको दाबी गरिएको छ। प्रमाण वा अदालतको निर्णयबिनै गम्भीर आरोप लगाइएको भन्दै यसले निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने तथा समाजमा द्वेष र उत्तेजना फैलाउने खतरा रहेको उजुरीमा उल्लेख छ।
उजुरीमा शाहमाथि आवश्यक छानबिन गरी कानुनअनुसार कारबाही गर्न माग गरिएको छ। साथै, चुनावी प्रचारका क्रममा महोत्तरीलगायत विभिन्न क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरिएको आरोपसमेत लगाइएको छ। विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गरी प्रचार गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने दाबी गर्दै यस विषयमा समेत आयोगले अध्ययन गरी आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ।
उजुरीमा समेटिएका विषयहरू गम्भीर प्रकृतिका भएकाले निर्वाचन आयोगले शाहको अभिव्यक्ति र प्रचार गतिविधिबारे अध्ययन गर्ने संकेत दिएको छ। चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा नेताहरूका सार्वजनिक अभिव्यक्ति र गतिविधि आचारसंहिताको दायराभित्र रहे–नरहेको विषय थप संवेदनशील बन्दै गएको छ।
















