मधेशमा राष्ट्रिय सभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, एमाले–कांग्रेस–जसपाबाट एक–एक विजयी

जनकपुरधाम, माघ ११ गते। राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मधेश प्रदेशको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। महिला, अल्पसंख्यक, दलित र अन्य गरी चार क्लस्टरमा भएको निर्वाचनमा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन्।
महिला क्लस्टरतर्फ नेकपा (एमाले) की रेखा झा ७२२२ मत प्राप्त गर्दै विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाकी शमी कुमारी अग्रवालले १९४४ मत प्राप्त गरिन् भने जसपाकी चन्द्रकला देवी साहले ३२२ मत ल्याइन्। यस समूहमा ३५७ मत बदर भएको छ।
अल्पसंख्यक क्लस्टरतर्फ नेपाली कांग्रेसका रंजित कर्ण ८०९३ मतसहित विजयी भए। नेकपाका रामनन्दन प्रसादले १३६१ मत प्राप्त गर्दा जसपाका शैलेश कुमार चौधरीले २७७ मत पाए। यसतर्फ ११४ मत बदर भएको छ।
दलित क्लस्टरतर्फ पनि नेपाली कांग्रेसकै धर्मेन्द्र पासवान ७९०४ मतसहित विजयी भए। नेकपाका रामनन्दन प्रसादले १३७६ मत र जसपाकी चमेली देवी दासले २०९ मत प्राप्त गरिन्। यस समूहमा १८६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
अन्य क्लस्टरतर्फ जसपाका महन्थ ठाकुर ७७२५ मतसहित निर्वाचित भए। नेकपाका लक्ष्मण पौडेलले १८०५ मत प्राप्त गरेका छन्। यस समूहमा ३१५ मत बदर भएको छ।
निर्वाचनमा प्रदेश सभाका १०० मध्ये ९९ जना सांसद तथा २६४ मध्ये २४२ जना स्थानीय तहका प्रमुख/उपप्रमुख (मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष) ले मतदान गरेका थिए।
यस परिणामसँगै मधेश प्रदेशबाट राष्ट्रिय सभामा एमाले, कांग्रेस र जसपाको प्रतिनिधित्व सुनिश्चित भएको छ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more