संवैधानिक राजसंस्था स्थापनाको आह्वान गर्दै ५० लाख एसएमएस पठाउने व्यक्ति पक्राउ

पुस ३०, काठमाडौ ।— मुलुकको प्रदेश संरचना हटाउँदै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै मोबाइलमा सामूहिक सन्देश (ग्रुप म्यासेज) पठाउने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन घर भएका ३४ वर्षीय निर्देश सेढाईं रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार सेढाईंलाई मंगलबार राति काठमाडौंको हात्तीसार क्षेत्रबाट पक्राउ गरिएको हो। उनी गाडी व्यवसायमा संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ प्रणालीमार्फत करिब ५० लाख एसएमएस पठाएका थिए। उनले आफूले ५० लाख मानिसलाई उक्त सन्देश पठाएको स्वीकार गरिसकेको एसपी आचार्यले जानकारी दिए।
प्रहरीले सेढाईंमाथि सन्देशमार्फत जनतालाई आतङ्कित पारेको आरोप लगाएको छ। उनले पठाएको म्यासेजमा “नेपालका सबै समस्याहरूको सँधैका लागि मुक्तिका निम्ति प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित संरचना सहितको सनातन संवैधानिक राजसंस्था स्थापना गर्न” आह्वान गरिएको उल्लेख थियो।
सेढाईंले पुस ३० गते दिउँसो १२ बजे बालुवाटारमा उपस्थित हुन आग्रह गर्दै सन्देश पठाएको प्रहरीले जनाएको छ। निषेधित क्षेत्रमा अनिश्चित कालका लागि उपस्थित हुन आह्वान गरिएको भन्दै उनलाई सार्वजनिक हितविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गरिने एसपी आचार्यले बताए।घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more