पुस २२, काठमाडौ । नेपाली कांग्रेस पार्टी कार्यालयबाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई कार्यालय प्रवेश गर्न अवरोध गरेका छन्। प्रदर्शनकारी कार्यकर्ताले पार्टीलाई ‘बन्दी’ बनाउन नहुने भन्दै नाराबाजी गरेका छन्।
प्रदर्शनका क्रममा केही नेताहरू र कार्यकर्ताबीच भनाभनसमेत भएको जनाइएको छ। अवस्था तनावग्रस्त बनेपछि सुरक्षाकर्मीहरू सतर्क अवस्थामा परिचालित छन्।
मंगलबार (पुस २२) का लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन आएका नेताहरू पार्टी कार्यालयको मुख्य गेटबाट प्रवेश गर्न नसकी वैकल्पिक गेट प्रयोग गरेर भित्र पसिरहेका छन्।
बिहान ११ बजेका लागि तय गरिएको बैठक समय परिवर्तन गरी दिउँसो १ बजे सारिएको भए पनि प्रदर्शनका कारण हालसम्म बैठक सुरु हुन सकेको छैन। पार्टीभित्रको आन्तरिक विवाद र असन्तुष्टिका कारण कार्यकर्ताहरू आन्दोलनमा उत्रिएको बताइएको छ।
पार्टी नेतृत्वले कार्यकर्तासँग संवादमार्फत समस्या समाधानको प्रयास गरिरहेको भए पनि तत्काल स्थिति सामान्य हुने संकेत देखिएको छैन।

















