जसपा–लोसपा एकीकरण अन्तिम चरणमा, पार्टीको नाम ‘जसपा नेपाल’ र चुनाव चिह्न ‘छाता’

पुस २२,काठमाडौ । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीचको एकीकरण अन्तिम चरणमा पुगेको छ। जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिका बीच दुवै दलबीच एकताका लागि सहमति प्रायः टुंगिएको हो।
विगतमा निर्वाचनपछिको असन्तुष्टि र आन्तरिक विवादका कारण जसपा नेपालबाट अलग भएर महन्थ ठाकुर नेतृत्वमा लोसपा नेपाल गठन भएको थियो। अहिले सोही लोसपा नेपाल पुनः उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग एकीकरण गर्न सहमत भएको छ।

काठमाडौँमा सम्पन्न जसपा र लोसपाका शीर्ष नेताहरूको संयुक्त बैठकले ३७ सदस्यीय कार्यकारिणी समिति गठन गर्ने निर्णय गरेको छ। तत्कालीन लोसपा नेपालका महासचिव परमेश्वर साहका अनुसार एकीकरणसम्बन्धी अधिकांश विषयमा सहमति भइसकेको छ।

बैठकबाट पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)’ नै रहने र चुनाव चिह्न ‘छाता’ कायम राख्ने निर्णय भएको एक नेताले जानकारी दिए। यद्यपि पार्टीको झण्डा, पदाधिकारीहरूको बाँडफाँड, कार्यकारिणी समितिको पूर्ण संरचना तथा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल अझै जारी रहेको बताइएको छ।
एकीकरणपछि पार्टीमा एकल अध्यक्षको व्यवस्था रहने र अध्यक्षमा उपेन्द्र यादव नै रहने सहमति भएको छ। त्यस्तै महन्थ ठाकुर पार्टीको अभिभावकत्वको भूमिकामा रहने सर्वसम्मत निर्णय भएको जनाइएको छ। सोमबार रातिसम्म ३७ सदस्यीय कार्यकारिणी समिति र अन्य पदाधिकारीहरूको टुंगो लगाइने महासचिव साहले बताए।

यसअघि लोसपा नेपालसँग एकीकरणमा समाहित भएका वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) का नेताहरूले पनि महन्थ ठाकुरको कोटाबाट जसपा नेपालमा प्रतिनिधित्व पाउने भएका छन्। ती दलहरू लोसपामा विलय भइसकेकाले अब उनीहरूको राजनीतिक प्रतिनिधित्व जसपा नेपालमार्फत हुने बताइएको छ।
त्यसैगरी, उपेन्द्र यादव नेतृत्वको तत्कालीन जसपा नेपालमा समाहित भएको रेणु यादव नेतृत्वको समूहलाई पनि अध्यक्ष यादवको संयोजनमा ३७ सदस्यीय कार्यकारिणी समितिमा समेटिने सम्भावना रहेको छ। पार्टीभित्र नेताहरूको व्यवस्थापन, जिम्मेवारी बाँडफाँड तथा विभिन्न समूहबीच सन्तुलन मिलाउने काम कार्यदलमार्फत टुंगो लगाइने जसपा नेपालका एक नेताले जानकारी दिए।
यसै बैठकबाट राष्ट्रियसभा निर्वाचनका विषयमा पनि निर्णय गरिने तयारी छ। राष्ट्रियसभा सदस्यको उम्मेदवारका रूपमा महन्थ ठाकुरको नाम अघि सारिने सम्भावना रहेको नेताहरूले बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more