पुस १९, जनकपुरधाम। धनुषाको कमला नगरपालिकामा कार्यरत शिक्षकहरू साढे पाँच महिनादेखि तलब–भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले पुस १ गतेदेखि विद्यालय बन्द गरी अनिश्चितकालीन धर्ना सुरु गरेको आज १८ दिन पुगेको छ।
शिक्षकहरूका अनुसार चालू आर्थिक वर्षको साउन महिनादेखि हालसम्म तलब तथा भत्ता उपलब्ध गराइएको छैन। नगरपालिकामा जनप्रतिनिधिहरूबीच देखिएको आन्तरिक विवादका कारण बजेट पारित हुन नसक्दा यसको प्रत्यक्ष असर शिक्षकहरूको सेवा–सुविधामा परेको उनीहरूको गुनासो छ।
धर्नामा सहभागी शिक्षकहरूले तलब नपाउँदा दैनिक जीवनयापनसमेत कठिन बन्दै गएको बताएका छन्। “महिनौँदेखि तलब नपाउँदा घरखर्च, ऋण तिर्ने र परिवार पाल्ने समस्या गम्भीर बन्दै गएको छ,” एक शिक्षकले भने, “समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्ने हाम्रो निर्णय छ।”
शिक्षकहरूको आन्दोलनका कारण नगरपालिकाभित्रका अधिकांश सामुदायिक विद्यालय पूर्ण रूपमा बन्द भएका छन्। यसले पठनपाठन ठप्प हुँदा विद्यार्थीहरूको पढाइमा गम्भीर असर परेको स्थानीय अभिभावकहरूले बताएका छन्।
यता नगरपालिकाका जिम्मेवार पदाधिकारीहरूबीच सहमति नजुट्दा बजेट पारित प्रक्रिया अल्झिएको जनाइएको छ। बजेट पारित नभएसम्म कर्मचारी तथा शिक्षकहरूको तलब–भत्ता निकासा गर्न कानुनी अड्चन रहेको नगरपालिकाको भनाइ छ।
शिक्षकहरूले समस्या तत्काल समाधान गरी तलब–भत्ता उपलब्ध गराउन माग गर्दै संघीय तथा प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएका छन्। समाधान नआए आन्दोलनलाई थप कडा बनाउने चेतावनी उनीहरूले दिएका छन्।
साढे पाँच महिनादेखि शिक्षक तलबबिहीन, पुस १ देखि विद्यालय बन्द गरी अनिश्चितकालीन धर्ना
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
होर्मुज जलडमरूमध्यमा भारतीय तेल ट्यांकरमाथि इरानी आक्रमण, भारतको कडा चेतावनी
- 13 views
जनकपुरधाममा अनुमति बिना चल्ने विद्यालय बन्द गर्ने चेतावनी, मनपरी शुल्कमा कडाइ
- 25 views
















