एकता भएको एक हप्तामै रास्वपामा असन्तुष्टि, उज्यालो नेपाल पार्टी ब्युँताउने कसरतमा

पुस १८,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीलाई लिएर असन्तुष्टि चर्किँदै गएपछि उज्यालो नेपाल पक्षले वैकल्पिक राजनीतिक विकल्पको खोजी थालेको छ। पार्टी एकता भएको एक हप्ता नपुग्दै रास्वपाको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै उज्यालो नेपालका नेता–कार्यकर्ता आन्तरिक छलफलमा जुटेका हुन्।
उज्यालो नेपाल पक्षले गणतन्त्र र धर्मनिरपेक्षताबारे रास्वपाको धारणा स्पष्ट नभएको तथा समानुपातिक बन्दसूचीमा आफूहरूलाई अपेक्षित स्थान नदिई पछाडि पारिएको आरोप लगाएको छ। यही असन्तुष्टिका कारण पार्टी ब्युँताउने वा वैकल्पिक बाटो अपनाउनेबारे कसरत सुरु भएको स्रोतले जनाएको छ।
यसैक्रममा अध्यक्ष अनुपकुमार उपाध्यायको नेतृत्वमा उज्यालो नेपालको टोली निर्वाचन आयोग पुगेर छुट्टै समानुपातिक बन्दसूची बुझाउन पाइने–नपाइने विषयमा जानकारी लिएको थियो। तर निर्वाचन आयोगले प्रचलित कानुनअनुसार एकता भइसकेपछि छुट्टै बन्दसूची बुझाउने व्यवस्था नरहेको स्पष्ट पारेको छ।
उता रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले समानुपातिक सूचीलाई लिएर देखिएका असन्तुष्टिहरू सम्बोधन गर्न संवाद जारी रहेको बताएका छन्। उनका अनुसार सूचीसम्बन्धी विवाद समाधानका लागि पार्टीको शीर्ष नेतृत्व तहमा छलफल भइरहेको छ।
समानुपातिक सूची सार्वजनिक भएसँगै सुरु भएको यो विवादले रास्वपाभित्र आन्तरिक व्यवस्थापन र एकतापछिको शक्ति सन्तुलनमाथि प्रश्न उठाएको छ।

  • सम्बन्धित समाचारहरु

    ग्यास संकट समाधान गर्न सरकार सक्रिय, आपूर्ति बढाउने निर्णय

    Read more

    आमरण अनशनमा राजेन्द्र महतो र राजकिशोर यादवको ऐक्यबद्धता

    Read more