संविधानको मर्मविपरीत रास्वपाको समानुपातिक बन्दसूची बुझाएको आरोप, समावेशीतामाथि गम्भीर प्रश्न

पुस १६, काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची संविधानको मर्मविपरीत रहेको भन्दै गम्भीर प्रश्न उठाइएको छ। बन्दसूची तयारीमा हतारो गरिएको र पर्याप्त पूर्वगृहकार्यको अभाव देखिएको आलोचना गरिएको छ।

नेपालको संविधानको धारा ४२ अनुसार आर्थिक, सामाजिक वा शैक्षिक रूपमा पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति तथा लैंगिक तथा यौनिक अल्पसंख्यकलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागी गराउनुपर्ने व्यवस्था छ। सोही मर्मअनुसार समानुपातिकतर्फ उम्मेदवार चयन हुनुपर्ने भए पनि रास्वपाको बन्दसूचीमा समावेश गरिएका धेरै व्यक्तिहरू त्यस मापदण्डमा नपर्ने आरोप लगाइएको छ।
सार्वजनिक रूपमा उठाइएको आलोचनामा रास्वपाको बन्दसूचीमा डा. महेन्द्र लावती (विज्ञ), मिस नेपाल अनुष्का श्रेष्ठ, ख्यातिप्राप्त गायिका तथा चिकित्सक त्रिशाला गुरुङ, गायिका सत्यकला राई, नेपाल सरकारका पूर्व सचिव तथा इन्जिनियर अनुपकुमार उपाध्याय, अर्बपति व्यवसायी तथा गोल्ड स्टार जुत्ताकी सीईओ विदुषी राणा, चर्चित गायक प्रकाश सपुत, टेलिभिजन प्रस्तोता रिमा विश्वकर्मा, चिकित्सक रुपक विश्वकर्मा, फिल्म निर्माता तथा कलाकार आसिफ साह, महिला आयोगकी सदस्य मोहना अन्सारी, ख्यातिप्राप्त क्रिकेटर ज्ञानेन्द्र मल्ल तथा अर्बपति व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाललगायतका नाम उल्लेख गरिएको छ।

आलोचकहरूको भनाइमा यी अधिकांश व्यक्तिहरू आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका वर्गमा नपर्ने र आफ्नै क्षमता तथा पहुँचका आधारमा खुला प्रतिस्पर्धाबाट अघि बढ्न सक्ने हैसियतमा रहेका छन्। “यस्ता व्यक्तिलाई समानुपातिक नामक आरक्षण आवश्यक छ कि छैन?” भन्ने प्रश्न उठाउँदै वास्तवमै आरक्षण आवश्यक वर्गको हक हडपिएको आरोप लगाइएको छ।

आफूलाई समावेशी र वैकल्पिक राजनीतिका वाहकका रूपमा प्रस्तुत गर्दै आएको रास्वपाले नै प्रतिष्ठित, सम्पन्न र चर्चित व्यक्तिहरूलाई समानुपातिक सूचीमा राख्नुले पार्टीको समावेशी प्रतिबद्धतामाथि गम्भीर प्रश्न खडा भएको टिप्पणी गरिएको छ।
यस विषयलाई समयमै सच्याउन खबरदारी आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित निकाय र पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको छ।

  • सम्बन्धित समाचारहरु

    असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना

    Read more

    फतुवा विजयपुरमा फेरि रोकियो नगरसभा, गणपूरक संख्या नपुग्दा बैठक स्थगित

    Read more