फागुन २१ को प्रतिनिधिसभा निर्वाचनः उम्मेदवारलाई प्रचारमा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न रोक

पुस १३, काठमाडौ ।  — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले चुनावी प्रचार–प्रसारमा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ अनुसार यस प्रावधानको उल्लंघन भए कडा कारबाही गरिने स्पष्ट गरिएको छ।

आयोगद्वारा जारी आचारसंहितामा निर्वाचन अधिकृतको अनुमति लिएर मात्र उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार रहेको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुई वटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय वा यान्त्रिक सवारी साधन प्रयोग गर्न सकिने उल्लेख छ। सवारी साधन सञ्चालन गर्न नसकिने भौगोलिक क्षेत्रमा भने बढीमा चार वटा घोडा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

त्यसैगरी, राजनीतिक दल, उम्मेदवार, पार्टीका भातृ संगठन वा सम्बन्धित व्यक्तिले चुनावी प्रचारका लागि प्रयोग गर्ने सवारी साधन विदेशी नम्बर प्लेटका हुन नहुने पनि आचारसंहितामा स्पष्ट गरिएको छ। अनुमति लिएको सवारी साधन अर्को दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन नपाइने तथा ती सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नहुने व्यवस्था पनि गरिएको छ।

निर्वाचन अधिकृतको स्वीकृति बिना तोकिएको बाहेकका सवारी साधन प्रयोग गर्न नपाइने यस प्रावधानले चुनावी प्रतिस्पर्धालाई निष्पक्ष बनाउन सहयोग पुग्ने आयोगको अपेक्षा छ। आयोगका अनुसार यस नियमको उद्देश्य चुनावी खर्च नियन्त्रण गर्नु, असमान प्रचारको अवस्था घटाउनु र सबै उम्मेदवारलाई समान अवसर सुनिश्चित गर्नु हो।

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भएको पाइएमा तत्काल कारबाही गर्ने चेतावनी दिएको छ। यससँगै उम्मेदवार र राजनीतिक दलहरूलाई चुनावी प्रचारका क्रममा सवारी साधनको व्यवस्थापन संयमित ढंगले गर्दै आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more