बालुवाटारमा तीन शीर्ष नेतासँग प्रधानमन्त्री कार्कीको बैठक, फागुन २१ मै चुनाव हुने संकेत स्पष्ट

पुस १३, काठमाडौ । — अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारमा तीन मुख्य दलका शीर्ष नेताहरूसँग पहिलोपटक औपचारिक छलफल गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा यसअघि शीतलनिवासमा दलका प्रतिनिधिसँग संवाद हुँदै आए पनि बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रमुखहरूसँग भएको यो बैठकलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चार मन्त्री जगदीश खरेलका अनुसार आजको छलफलले फागुन २१ गतेकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुने वातावरण स्पष्ट रूपमा बनेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले भने, “चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमा अब अन्योल छैन। अब चुनाव हुन्छ।”

उनका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्धारित मितिमै निर्वाचन गराउन प्रतिबद्ध देखिएका छन्। “फागुन २१ को चुनाव यताउता नगरौं। विशेष परिस्थितिमा सरकारले काम गरिरहेको सन्दर्भमा प्रचण्डले सरकारको प्रयासको प्रशंसा गर्नुभयो,” मन्त्री खरेलले जानकारी दिए।

कांग्रेस सभापति देउवाले पनि अबको राजनीतिक प्राथमिकता स्पष्ट रूपमा चुनावतर्फ केन्द्रित रहेको बताएका छन्। “देउवाले कांग्रेसको प्राथमिकता अब संसद् पुनर्स्थापना होइन, निर्वाचन नै हो भनेर प्रष्ट पार्नुभयो,” मन्त्री खरेलले भने।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आफूहरू चुनावको विपक्षमा नरहे पनि सुरक्षा व्यवस्थाप्रति चिन्ता व्यक्त गरेको स्रोतले जनाएको छ। बैठकमा ओलीले उठाएका सुरक्षा सम्बन्धी प्रश्नहरूमा प्रधानमन्त्री कार्कीभन्दा अघि बढेर देउवाले जवाफ दिएका थिए भने केही जिज्ञासामा प्रचण्डले पनि प्रतिक्रिया जनाएका थिए। बैठकमा देखिएको यो दृश्यलाई स्रोतले ‘रोचक’ भएको टिप्पणी गरेको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more