रास्वपा र बालेन्द्र शाहबीच बृहत् एकतामा सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार शाह

पुस १३, काठमाडौ । — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच बृहत् राजनीतिक एकतासम्बन्धी सहमति भएको छ। दुवै पक्षले लोकतान्त्रिक सुशासन, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र भ्रष्टाचारविरुद्धको साझा एजेन्डामा सहकार्य गर्ने प्रतिबद्धतासहित उक्त सहमति गरेका हुन्।
पुष १३, २०८२ मा काठमाडौँमा भएको सहमतिअनुसार २०८२ साल भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनका शहीद तथा घाइतेहरूको बलिदानलाई प्रेरणाका रूपमा आत्मसात गर्दै समान अठोट बोकेका परिवर्तनकामी शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ।
सहमति पत्रमा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यका साथ इमान्दार कार्यान्वयनमा समर्पित रहने उल्लेख छ।
एकतापछि स्थापित हुने दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रंगको ‘घण्टी’ रहने र चुनाव चिन्ह पनि ‘घण्टी’ नै हुने सहमति भएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ।
नेतृत्व संरचनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ। एकतापछि संगठनलाई सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूको समुचित समायोजन गर्दै योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर जिम्मेवारी तोकिने उल्लेख छ।
सहमति कार्यान्वयनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै, पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ वरिपरि गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more