उज्यालो नेपाल पार्टीको स्पष्ट अडान: अस्तित्व मेटाएर कुनै दलसँग एकता हुँदैन

पुस १२ , काठमाडौ । उज्यालो नेपाल पार्टीले आफ्नो पार्टीको अस्तित्व समाप्त हुने गरी कुनै पनि राजनीतिक दलसँग एकतामा नजाने स्पष्ट निर्णय गरेको छ। पार्टीको केन्द्रीय समिति बैठकमा संरक्षक कुलमान घिसिङले हाल भइरहेका राजनीतिक संवादबारे ब्रिफिङ गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति गम्भीर आशंका र असहमति रहेको धारणा प्रस्तुत गरेका छन्।
बैठकमा घिसिङले रास्वपाले ‘कुलमान र बालेन शाह आउँदैछन्’ भन्ने सन्देशमार्फत आफ्नो शक्ति विस्तार गर्न खोजेको तर उज्यालो नेपाल पार्टीको पहिचान र अस्तित्वलाई स्वीकार्न नचाहेको निष्कर्ष निकालिएको बताए। यस्तो अवस्थामा पार्टीले आत्मसमर्पण गरेर एकतामा जान नसक्ने उनको भनाइ थियो।
केन्द्रीय समिति बैठकमा सहभागी अधिकांश नेताहरूले यदि पार्टीको अस्तित्व स्वीकार गरिँदैन भने एक्लै चुनावमा जानुपर्ने मत राखेका छन्। साथै, रास्वपाबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)माथि पनि धोका हुनसक्ने आशंका नेताहरूले व्यक्त गरेका छन्।
बैठकमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा औपचारिक निर्णय नभएको अवस्थाले विश्वासको संकट देखिएको भन्दै गम्भीर छलफल भएको बताइएको छ। पार्टीले सहअस्तित्व र सम्मानको आधारमा मात्रै एकताको सम्भावना रहने तर अस्तित्व गुमाएर वा आत्मसमर्पण गरेर एकतामा नजाने अडान दोहोर्‍याएको छ।
उज्यालो नेपाल पार्टीका अनुसार रास्वपाले अघि सारेको ‘बालेन प्रधानमन्त्री, रवि सभापति र कुलमानलाई रास्वपाका वरिष्ठ नेता मानेर अघि बढ्ने’ प्रस्ताव यसअघि नै अस्वीकार गरिसकिएको छ। पार्टीले आफ्नो स्वतन्त्र पहिचान, संगठनात्मक मूल्य र राजनीतिक विश्वसनीयता जोगाउँदै आगामी निर्वाचन रणनीति तय गर्ने स्पष्ट संकेत दिएको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more