रवि–बालेन राजनीतिक एकता अन्तिम चरणमै पुगेर संकटमा

पुस १२, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच राजनीतिक एकताका लागि बिहीबार बेलुकासम्म लगभग सहमति जुटेको भनिएको प्रक्रिया अन्तिम चरणमै पुगेर संकटमा परेको छ। हस्ताक्षर र औपचारिक घोषणाको तयारी भइरहेका बेला बालेन समूहबाट आएको काउन्टर मागका कारण सहमति अनिश्चित बनेको नेताहरूले बताएका छन्।
स्रोतका अनुसार बिहीबार साँझसम्म रास्वपाले बालेनलाई चुनावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव स्वीकार गरिसकेको थियो। यसैअनुसार शुक्रबार सहमतिपत्रमा हस्ताक्षर गरी सम्झौता सार्वजनिक गर्ने तयारी गरिएको थियो। तर शुक्रबारका लागि तय गरिएको हस्ताक्षर शनिबारसम्म सारियो भने शनिबार दुई पक्षबीच भेटवार्ता नै नहुने अवस्था सिर्जना भएको बताइएको छ।
सहमतिको अन्तिम तयारी भइरहेका बेला बालेन समूहले पार्टी संरचना तथा निर्वाचन प्रक्रियामा प्रतिशतका आधारमा हिस्सेदारी माग गरेपछि सहमति संकटमा परेको स्रोतको दाबी छ। पार्टीका पदाधिकारीदेखि केन्द्रीय समिति, प्रत्यक्ष र समानुपातिक उम्मेदवारीसम्म ‘कोटा’को आधारमा सहभागिता चाहिएको माग आएको र यसले रास्वपाभित्र असन्तुष्टि पैदा गरेको बताइएको छ।
‘बिहीबार बेलुकासम्म सबै कुरा मिलिसकेको जस्तो देखिन्थ्यो। शुक्रबार औपचारिकता पूरा गर्ने तयारी थियो,’ स्रोतले भन्यो, ‘तर अचानक प्रतिशतका आधारमा पार्टी र निर्वाचनमा हिस्सेदारी माग आएपछि समस्या उत्पन्न भयो।’
रास्वपाका वार्तामा सहभागी नेताहरूका अनुसार पार्टी बालेन तथा जेन–जीका योग्य र सक्षम व्यक्तिहरूलाई बालेनकै सिफारिसमा पार्टी संरचना र निर्वाचन प्रक्रियामा सहभागी गराउन तयार थियो। तर प्रतिशतको आधारमा भागबण्डा गर्ने प्रस्ताव भने पार्टीको सिद्धान्त र संगठनात्मक मूल्यसँग नमिल्ने भन्दै अस्वीकार गरिएको बताइएको छ।
यता, रास्वपासँग वार्तामा रहेको बालेन पक्षले पनि शनिबार सभापति रवि लामिछानेसँग भेटवार्ता अनिश्चित भएको पुष्टि गरेको छ। तर आफूहरूले राखेको मागबारे सार्वजनिक रूपमा खुल्न नचाहेको उनीहरूको भनाइ छ।

  • सम्बन्धित समाचारहरु

    जनकपुर अस्पतालमा चिकित्सकमाथि हातपात, दुई जना पक्राउ

    Read more

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more