पुस १२, जनकपुरधाम। नाबालिक अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का नेता शिवशंकर साह धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत धनुषाका न्यायाधीश ईश्वर आचार्यको एकल इजलासले साहसहित पाँच जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतको आदेशअनुसार शिवशंकर साह, अमित ठाकुर, रामकुमार साह र एक जना परिवर्तित नाम भएका व्यक्तिलाई जनही २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गरिएको छ। यस्तै, रामबाबु झालाई ५० हजार रुपैयाँ धरौटीमा छोडिएको अदालतले जनाएको छ।
तर सोही मुद्दामा संलग्न आरोपित मनोजकुमार साहलाई भने धरौटीमा नछोडी कारागार पठाउने आदेश सुनाइएको छ।
एमाले नेता शिवशंकर साहलाई गत मंसिर २३ गते भारतको सीतामढीबाट पक्राउ गरिएको थियो। साहसहित पक्राउ परेकाहरूको गत साता जिल्ला अदालत धनुषामा बयान लिइएको थियो।
मुद्दामा विवाह पञ्चमी लगत्तै जनकपुरधामस्थित एक होटलमा नाबालिकामाथि बलात्कार भएको आरोप लगाइएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
उल्लेखनीय छ, शिवशंकर साह २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार रहेका थिए।
















