भदौ २४ मा जनताको जीवन जोगाउने सुरक्षाकर्मीलाई बदनाम गर्न खोजियो : रवि लामिछाने

पुस ५, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २४ गते नेपाली सेना र अन्य सुरक्षा निकायले संयम अपनाउँदै जनताको जीवन जोगाएको भए पनि अहिले उनीहरूलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन्।

शनिबार चितवनको भरतपुरमा आयोजित पार्टीको स्वागत सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सुरक्षाकर्मीहरूले गोली नचलाई नागरिकको रक्षा गरेको उल्लेख गर्दै त्यस्तो भूमिकाको सम्मान हुनुपर्नेमा उल्टै विवादमा तान्ने प्रयास भइरहेको बताए।

उनले भदौ २३ को नरसंहारविरुद्ध जनता सडकमा उत्रिएपछि त्यसको सुरक्षा व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरीलगायतका सुरक्षा निकायले जिम्मेवार भूमिका निर्वाह गरेको दाबी गरे। “भदौ २४ मा नेपाली सेनाले संयमपूर्वक जनता जोगाएको हो, जनतालाई गोली नहानेको हो,” लामिछानेले भने, “यस्तो अवस्थामा सेनालाई सम्मान गर्नुपर्ने हो, तर जबर्जस्ती विवादमा तान्ने प्रयास भइरहेको छ।”
राष्ट्रलाई कमजोर बनाउने उद्देश्यले सुरक्षा निकायमाथि आरोप थोपरिने गरिएको उनको भनाइ थियो। उनले सुरक्षाकर्मीहरूलाई हतोत्साहित नहुन आग्रह गर्दै उच्च मनोबलका साथ राष्ट्र सेवामा जुटिरहनुपर्ने बताए। “राष्ट्रलाई कमजोर पार्ने गरी सेना, प्रहरी र सुरक्षा निकायमाथि आक्रमण गर्ने काम बन्द हुनुपर्छ,” उनले भने।

सभापति लामिछानेले प्रत्येक आन्दोलनमा प्रहरी र सुरक्षाकर्मीहरू पेलाइमा पर्ने अवस्था सधैं नरहने विश्वास व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियाबाट शासन व्यवस्थामा सुधार सम्भव हुने बताए। उनले भ्रष्टाचारमा डुबेकाहरूलाई अब सलाम गर्न नपर्ने समय आउने उल्लेख गर्दै जनताको शासन निर्वाचनमार्फत स्थापित हुने दाबी गरे।

कार्यक्रममा लामिछानेले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइते सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे। उनले सुरक्षा निकाय र जनताबीचको सम्बन्ध अझ बलियो बनाउँदै शान्ति, सुशासन र लोकतन्त्रको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more