पुस ६, ढाका/मयमनसिंह । बंगलादेशको मयमनसिंह जिल्लास्थित भालुका क्षेत्रमा ईशनिन्दाको आरोपमा २५ वर्षीय फ्याक्ट्री कामदार दीपू चन्द्र दासको कुटपिट गरी हत्या गरिएको घटनामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। घटनापछि दुई दिनको अन्तरालमा प्रशासनले आरोपितहरूलाई पक्राउ गरेको हो।
स्थानीय स्रोतका अनुसार आक्रोशित भीडले दीपूलाई कुटपिट गरी हत्या गरेपछि उनको शव मुख्य सडकमा रहेको रुखमा झुण्ड्याएर आगो लगाएको थियो। सो घटनाको सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो।
मयमनसिंह र्यापिड एक्सन बटालियन (र्याब) ले शनिबार विज्ञप्ति जारी गर्दै पक्राउ परेकामध्ये सात जनालाई र्याबले र तीन जनालाई प्रहरीले विभिन्न स्थानमा छापा मारेर नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरूमा लिमोन सरकार (१९), तारेक हुसैन (१९), माणिक मियाँ (२०), इरशाद अली (३९), निझुम उद्दीन (२०), आलमगीर हुसैन (३८), मिराज हुसैन (४६), अजमल सगीर (२६), शाहीन मियाँ (१९) र नजमुल (२१) रहेका छन्।
र्याबका अपर प्रहरी उपरीक्षक शम्सुज्जामनका अनुसार पक्राउ परेका सबैलाई कानुनी प्रक्रिया पूरा गरी प्रहरीको जिम्मा लगाइनेछ। र्याबको प्रारम्भिक अनुसन्धानअनुसार फ्याक्ट्रीका फ्लोर म्यानेजर आलमगीर हुसैनले दीपूलाई जबर्जस्ती जागिर छोड्न लगाई त्यसपछि आक्रोशित भीडको जिम्मा लगाएको आरोप छ। सोही फ्याक्ट्रीका क्वालिटी म्यानेजर मिराज हुसैन आकन पनि पक्राउ परेका छन्।
र्याब निर्देशक नैमुल हसनले प्रहरीले जानकारी दिनु पर्ने अवस्थामा किन युवकलाई भीडको जिम्मा लगाइयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए। उनका अनुसार यस घटनापछाडि पुरानो व्यक्तिगत रिसइवी वा भीडको दबाब कारण हुनसक्ने आशंका गरिएको छ।
यस घटनाले अन्तर्राष्ट्रिय स्तरमा समेत तीव्र प्रतिक्रिया उत्पन्न गरेको छ। लेखिका तस्लीमा नसरीनले सामाजिक सञ्जालमा एक मुस्लिम सहकर्मीले सानो विषयलाई लिएर दीपूमाथि झुटो ईशनिन्दाको आरोप लगाएको दाबी गरेकी छन्। भारतको आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याणले यस घटनालाई २१औँ शताब्दीलाई लज्जित पार्ने बर्बरता र मानवताको पराजयको संज्ञा दिएका छन्। उनले बंगलादेश सरकारलाई अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर ध्यान दिन आग्रह गरेका छन्।
















