पुस ५, जनकपुरधाम । एक महिनाभन्दा बढी समयदेखि रिक्त रहेको मधेस प्रदेश सभामुख पदका लागि दुई जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। प्रदेश सभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार सात दलीय साझा उम्मेदवारका रूपमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक राम अशिष यादव र नेकपा एमालेका तर्फबाट त्रिलोकी प्रसादले मनोनयन दर्ता गराएका हुन्।
राम अशिष यादवको प्रस्तावकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेका छन्। यस्तै, एमाले उम्मेदवार त्रिलोकी प्रसादको प्रस्तावकमा शारदादेवी थापा र समर्थकमा जयचन्द्र प्रसाद पटेल रहेका छन्। उनका प्रस्तावक र समर्थक दुवै एमालेका प्रदेश सभा सदस्य हुन्।
प्रदेश सभा सचिवालयका अनुसार नयाँ सभामुख चयनका लागि पुस ६ गते आइतबार दिउँसो १ बजे प्रदेश सभामा निर्णायार्थ प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
यसअघि आचरणअनुकूल काम नगरेको आरोपमा तत्कालीन सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ गते पदमुक्त गरिएको थियो। मण्डलविरुद्ध कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका ७६ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित कार्तिक २६ गते महाभियोग प्रस्ताव दर्ता गरिएको थियो
















