मंसिर २२, जनकपुरधाम। – स्थानीय बजारमा बिक्री–वितरण भइरहेको दूधको शुद्धता र गुणस्तर जाँच गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले डेरी क्षेत्रमा अनुगमन गतिविधि तीव्र पारेको छ। दुधमा पानी मिसावट, फ्याट स्तर, मिठाइपन, स्वच्छता तथा अन्य गुणस्तर मापदण्ड पूरा भए–नभएको विषयमा विस्तृत परीक्षण गरिएको छ।
शहरका विभिन्न वडामा सञ्चालन भइरहेका डेरी तथा दूध बिक्री केन्द्रहरूमा गरिएको अनुगमनले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय दूध उपलब्ध गराउने उद्देश्यअनुसार कार्य भइरहेको अनुगमन टोलीले जनाएको छ। निरीक्षणका क्रममा राजीव डेरी (देशी दूध घर जनकपुरधाम–१), आदेश दूध बिक्री केन्द्र–११, टुपे डेरी तथा गंगा देवी दूध डेरी फर्म दर्ताविहीन अवस्थामा सञ्चालनमा रहेकाे भेटिएको छ। सम्बन्धित व्यवसायलाई आवश्यक कागजी प्रक्रिया पूरा गर्न निर्देशन पनि दिइएको कार्यालयले बताएको छ।
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका रमेश दाहाल, प्रवीण कुमार तिवारी, प्रदीप संगोला, जनकपुरधाम उद्योग वाणिज्य संघका परमेश्वर साह र राम जीवन साह, जिल्ला प्रशासन कार्यालयका सुनिल झा तथा पशु सेवा विज्ञ केन्द्रका विनोद पाण्डे लगायतका प्रतिनिधिहरू सहभागी थिए।
















