जाँचबुझ आयोगले तीन दिनदेखि काठमाडौंका तत्कालीन सीडीओ रिजालको बयान लिदै

१९ मंसिर, काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको तोडफोडबारे जाँचबुझ गर्न गठन भएको आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिइरहेको छ ।

माइतीघरबाट शुरु भएको प्रदर्शन बानेश्वर पुगेर संसद भवन प्रवेश गर्न खोजेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले गोली चलाउन आदेश दिएका थिए ।

‘दुई दिनदेखि उहाँको बयान चलिरहेको छ, सम्भवत: शुक्रबार बयान सकिनेछ’ जाँचबुझ आयोग सम्वद्ध स्रोतले भन्यो, ‘जेन–जी आन्दोलनमा भएको बल प्रयोग र त्यसमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे उहाँसँग बयान भइरहेको हो ।’

आन्दोलनलगत्तै नयाँ सरकार गठन हुनासाथ रिजाललाई सरकारले काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट हटाएको थियो । उनी अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा छन् । जाँचबुझ आयोगले उनलाई अनुमतीविना काठमाडौं उपत्यका नछाड्न आदेश दिँदै उनको पासपोर्ट समेत रोक्का राख्न सिफारिस गरेको थियो ।

जेन–जी आन्दोलन दमनमा जोडिएका अरु सरोकारवालाहरुले भने जिल्लाको शान्तिसुरक्षाको मामिला प्रमुख जिल्ला अधिकारीको हुने भएकाले उनले नै घटनाको जिम्मा लिनुपर्ने भनी लिखित जवाफ पेश गरेका छन् ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै जिल्लाको शान्तिसुरक्षा प्रमुख जिल्ला अधिकारीको क्षेत्राधिकारमा रहने र जिल्लाका सुरक्षाकर्मीहरु पनि उनी मातहत रहने जवाफ दिएका थिए ।

उनले जवाफमा भनेका थिए, ‘त्यो दिन काठमाडौंको शान्तिसुरक्षा प्रमुख जिल्ला अधिकारीको जिम्मामा थियो ।’

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीले आत्मरक्षाका लागि सुरक्षाकर्मीहरुले गोली चलाएको दावी गरेका थिए ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more