प्रधानमन्त्री कार्की–महन्थ ठाकुर भेट: निर्वाचनको वातावरण र मधेस विकासबारे छलफल

मंसिर ११, काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर बिच आज महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार मा भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन का लागि राजनीतिक वातावरण सहज, शान्त र विश्वासपूर्ण बनाउन सक्दो भूमिका निर्वाह गरिदिन आग्रह गरेकी छन् ।

अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई आफूहरूको दल चुनावी तयारीमा जुटिसकेको, तथा सम्भावित गठबन्धनका विषयमा आन्तरिक र बाह्य तहमा छलफल भइरहेको जानकारी गराएका थिए ।

बैठकमा अध्यक्ष ठाकुरले स्पष्ट शब्दमा भने,
“हामी स्पष्ट छौँ । चुनावमा भाग लिनुपर्छ, लिन्छौँ नै । चुनाव नै अबको एक मात्र निकास हो ।”

यो भनाइले चुनावप्रति लोसपाको दृढ प्रतिबद्धता झल्काएको छ ।

भेटवार्ताको क्रममा अध्यक्ष ठाकुरले तराई–मधेसको तेज विकासमा निर्णायक योगदान दिनसक्ने ठूला तथा महत्वपूर्ण परियोजनाहरूलाई गति दिन सरकारसँग आग्रह समेत गरेका थिए । उहाँले मधेसको समृद्धि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि–आधारित विकासमा केन्द्र सरकारले ठोस प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरको आग्रहलाई सकारात्मक रुपमा लिँदै, निर्वाचन सफल बनाउन र मधेस विकासका योजनालाई प्रभावकारी रुपमा अघि बढाउन सरकार सदैव सहकार्यका लागि तयार रहेको उल्लेख गरेकी छन् ।

सिंहदरबारमा सम्पन्न उक्त भेट निर्वाचन, सत्ता–सहकार्य, र तराई–मधेस केन्द्रित विकासका मुद्दाहरू मा केन्द्रित रहेको थियो । यो संवादले चुनावी माहोल थप मजबुत, समन्वयात्मक र परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more