मधेस प्रदेशसभा सचिवालय ‘परिवार भर्ती केन्द्र’ जस्तै : सभामुख मण्डलले पत्नी–छोरा–छोरी–ज्वाइँसहित ६ जनालाई नियुक्ति दिएको खुलासा

कार्तिक २९, जनकपुरधाम। मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पदीय आचरण र अधिकारको दुरुपयोग गर्दै प्रदेशसभा सचिवालयलाई आफ्नै परिवारका सदस्यहरूको ‘रोजगार केन्द्र’ बनाएको खुलेको छ। सभामुख मण्डलले पत्नी, छोरा, दुई छोरी र ज्वाइँसहित परिवारका ६ जनालाई विभिन्न पदमा करार सेवामा नियुक्त गराएका छन्।

सभामुख मण्डलकी श्रीमती मिथिला देवी मण्डललाई सचिवालयमा स्विपर (सफाइ कर्मचारी) पदमा नियुक्त गरिएको छ। उनको मासिक तलब रु २४,७०२ रहेको छ।

त्यस्तै, उनका छोरा राहुल मण्डल कम्प्युटर अपरेटर का रूपमा कार्यरत छन्, जसको मासिक पारिश्रमिक रु ३४,७३० छ।

सभामुख मण्डलले आफ्नी जेठी छोरी काजल कुमारी मण्डललाई माली पदमा तथा कान्छी छोरी विभा कुमारी मण्डललाई भान्से पदमा नियुक्त गराएका छन्। दुबैको मासिक तलब रु २४,७०२–२४,७०२ रहेको बताइएको छ।

तर, स्रोतका अनुसार दुवै छोरीको स्थायी बसोबास काठमाडौँमा रहेको र उनीहरूले प्रदेशसभा सचिवालयमा उपस्थित नभए पनि नियमित रूपमा तलब बुझिरहेको दाबी गरिएको छ।

यसैगरी, सभामुखको ज्वाइँ पनि सचिवालयमै करार सेवामा कार्यरत रहेको स्रोतको भनाइ छ, जसले परिवारका ६ सदस्यलाई सचिवालय संरचनामा राखिएको पुष्टि गर्छ।

सभामुखको यस्तो कदमलाई प्रदेश राजनैतिक वृत्तमा गम्भीर नैतिक भ्रष्टाचार, पदीय दुरुपयोग र सुशासनको मजाक भनेर आलोचना भइरहेको छ। प्रदेशसभाको सबैभन्दा जिम्मेवार पदमा बसेको व्यक्तिद्वारा परिवारवादी नियुक्ति गरिएको खुलासापछि यसबारे औपचारिक छानबिन तथा कारबाहीको माग उठ्न थालेको छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more