मधेश प्रदेश सभाको प्राङ्गणमा प्रदेश सभा सञ्चाचालन

कार्तिक २९, जनकपुरधाम। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध सात दलले अविश्वास प्रस्ताव दर्ता गरेसँगै प्रदेशसभामा अस्थिरता, आरोप–प्रत्यारोप र राजनीतिक तनाव थप चर्किएको छ। अविश्वास प्रस्ताव पेश भएसँगै सभामुखले निरन्तर विवादास्पद कदम चालेको आरोप लागेपछि आज प्रदेशसभाको बैठक नै सदन बाहिर, खुल्ला चौरमा सञ्चालन गरिएको छ।

उप–सभामुख बबिताकुमारी राउत ईशरको अध्यक्षतामा प्रदेश सभा परिसरकै खुला स्थानमा वैकल्पिक बैठक बसेको हो। सात दलका सांसदहरूको उपस्थिति रहेको उक्त बैठकमा जसपा नेपालका नेता तथा पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले सभामुख मण्डललाई नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिन चेतावनी दिए।

सात दलको अविश्वास प्रस्ताव र सभामुखको विवादास्पद चलखेल

नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र अन्य दलका सांसदहरूले सभामुख मण्डलले पार्टी विशेषको इसारामा प्रदेश सभालाई दुरुपयोग गरेको उल्लेख गर्दै अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। अविश्वास दर्ता गर्न पुगेका सांसदहरूसँग सभामुख पक्षका व्यक्तिहरूले दुर्व्यवहार गरेको आरोप पनि सात दलले लगाएका छन्।

सभामुखले अविश्वास दर्ता भएपछि उल्टै पाँच प्रदेशसभा सदस्यलाई “१० बैठकमा अनुपस्थित भएको” कारण देखाई पदबाट हटाएको निर्णय तत्काले लिए। तर ती पाँचै जना सांसद मुख्यमन्त्री विश्वासको मतको दिन सदनमा उपस्थित रहेको प्रमाणसहित सांसदहरूले यो कदमलाई “राजनीतिक बदनियत” भनेका छन्।

सभामुखलाई ‘कारबाही मोड’मा आरोप, सात दलको अल्टिमेटम

सांसदहरूका अनुसार सभामुख मण्डल नेकपा एमालेका खुला कार्यकर्ताजस्तै व्यवहार गर्दै, प्रदेशसभा सचिवालयसम्ममा पार्टीका कार्यकर्ता राखेर सदनलाई नियन्त्रणमा लिने रणनीतिमा लागेको दाबी गरे।
सात दलले स्पष्ट चेतावनी दिए—
“सभामुखले पद नछोडे रामानन्द चौकमै नयाँ सभामुख बनाइन्छ।”

उप–सभामुखले सरकारी आवास छाडे, सुरक्षा जोखिम बढेको दाबी

राजनीतिक तनाव झन् बढ्दै गएपछि उप–सभामुख बबिताकुमारी राउतले सुरक्षा निकायको सुझावमा सरकारी आवास छाडेर निजी निवासमा सरेकी छन्।
उनले भनिन्,
“कार्यालयकै भित्र सांसद थुनिने, झडप, हातपातका घटनासम्म हुन थालेपछि म पनि असुरक्षित महसुस गरें। सुरक्षा निकायले संवेदनशील हुन भनेपछि अस्थायी रूपमा सरकारी आवास छाडेकी हुँ।”

उनी निजी निवासमा बसे पनि सदनका सबै दायित्वमा कुनै असर नपर्ने उनले बताइन्।

खुल्ला चौरमै वैकल्पिक प्रदेशसभा बैठक

प्रदेशसभा भवनभित्र प्रवेशमा अवरोध र सुरक्षाको अनिश्चिततापछि सात दलले आजको बैठक खुला चौरमै सञ्चालन गरे।
उप–सभामुख राउतको अध्यक्षतामा बसेको यस बैठकमा पूर्व सभामुख तथा जसपा नेता सरोजकुमार यादवले सभामुख मण्डललाई लक्षित गर्दै भने—
“अविश्वास दर्ता भइसकेको अवस्थामा सभामुखले नैतिकता देखाएर पद छोड्नुपर्छ। अब अर्को विकल्प छैन।”

राजनीतिक ध्रुवीकरण तीव्र, स्थायित्व संकट

सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मधेश प्रदेशमा सत्ता–प्रतिपक्षबीचको ध्रुवीकरण तीव्र बनेको छ।
एकातिर सात दलको गठबन्धन, अर्कोतिर सभामुख मण्डल र उनको वरिपरि सक्रिय एमाले नेतृत्व।

राजनीतिक अवरोध, सभामुखको विवादास्पद हस्तक्षेप, सुरक्षा जोखिम र वैकल्पिक स्थानमा सदन सञ्चालन हुनुले मधेश प्रदेशको शासन व्यवस्था गम्भीर संवैधानिक मोडमा पुगेको संकेत गरेको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more