भारतीय दूतावासले मधेसको राजनीति अस्थिर बनाएको मुख्यमन्त्री यादवको आरोप

कार्तिक २९, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले वीरगन्जस्थित भारतीय दूतावासको काउन्सलर कार्यालयका प्रतिनिधिहरूमाथि प्रदेशको राजनीतिक स्थिरतामा हस्तक्षेप गरेको गम्भीर आरोप लगाएका छन्। शनिबार प्रदेशवासीको नाममा जारी गरिएको सम्बोधनमार्फत उनले भारतीय अधिकारीहरूले विभिन्न दलका नेताहरूलाई दबाब र धम्की दिने गतिविधि गर्दै आएको दाबी गरे।

मुख्यमन्त्री यादवका अनुसार काउन्सलर कार्यालयका प्रतिनिधिहरूले मधेसका विभिन्न दलका नेताहरूसँग प्रत्यक्ष भेटघाट गरी ‘दल फुटाइदिन्छु’ जस्ता धम्कीपूर्ण अभिव्यक्ति प्रयोग गर्ने गरेका छन्। उनले भने, “वीरगन्जस्थित काउन्सलर अफिसका प्रतिनिधिहरू नेताहरूलाई धम्काउने, निर्णयमा हस्तक्षेप गर्ने काम गर्दै आएका छन्। यसले प्रदेशको राजनीति अस्थिर बनाउने प्रयास भएको स्पष्ट देखिन्छ।”

यादवले आफू तथा सरकारका अन्य सदस्यहरू समेत सुरक्षा जोखिममा रहेको तथ्य सुरक्षित निकायहरूले औपचारिक रूपमा जानकारी गराइसकेको उल्लेख गरे। विशेष सुरक्षा रिपोर्ट आएपछि सार्वजनिक कार्यक्रमहरू सीमित गर्नुपर्ने अवस्था आएको उनले बताए। “सुरक्षा चुनौती बढेको भन्दै संवेदनशील भएर कार्य गर्न सुझाव आएको छ,” उनले भने।

मुख्यमन्त्रीले मन्त्री र प्रदेशसभा सदस्यहरू समेत सुरक्षा ‘थ्रेट’ को सूचीमा परेको दाबी गरे। सुरक्षा निकायको टिप्पणीलाई आधार बनाउँदै उनले वर्तमान परिस्थितिमा प्रदेश सरकार सचेत र सतर्क भएर अघि बढिरहेको बताए।

यसै क्रममा यादवले मधेसका राजनीतिक दलहरूबारे टिप्पणी गर्दै नेकपा एमालेलाई मधेसको “सच्चा राजनीतिक दल” भएको दाबी गरे। लोसपा, जसपा नेपाललगायत दलहरूले आफूलाई मधेशवादी भनेर प्रस्तुत गरे पनि २०७९ को निर्वाचन परिणामले एमालेले नै मधेसमा ठोस जनसमर्थन प्राप्त गरेको प्रमाणित गरेको उनको भनाइ थियो। “मधेशवाद नारामा होइन, व्यवहारमा देखिनुपर्छ,” उनले जोड दिए।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more