कार्तिक २८, जनकपुरधाम । धनुषामा दुई पक्षबीच उत्पन्न विवादका दौरान प्रहरीकै जवानले गोली प्रहार गरी वडाध्यक्षको हत्या गरेको तथ्य बाहिर आएको छ। मिथिला बिहारी नगरपालिका–९, अन्दुपट्टीमा १३औं दिनको तिथिमा सहभागी हुन पुगेका वडाध्यक्ष विन्देश्वर यादव माथि गोली प्रहार भएको थियो। गम्भीर घाइते अवस्थामै प्रादेशिक अस्पताल जनकपुर पुर्याइएपछि उनको मृत्यु भएको थियो।
घटनाको प्रारम्भिक अनुसन्धान अनुसार तिथि स्थलमै स्थानीय धर्मराज यादवसँग भएको गालीगलौजले विवाद चर्किएपछि स्थिति उग्र बनेको थियो। यही क्रममा धर्मराज यादवका आफन्त पर्ने शम्भु यादवले वडाध्यक्षमाथि गोली प्रहार गरेको पुष्टि भएको छ। शम्भु यादव प्रहरी सेवामा कार्यरत जवान रहेको र घटनाको समय बिदामा घर आएको खुलेको छ।
उनी सप्तरीस्थित एक प्रहरी चौकीमा दरबन्दी रहेका थिए। बिदामा घर फर्कँदा उनले प्रहरीकै हतियार बोकेको आशंका प्रहरीले व्यक्त गरेको छ। गोली प्रहारपछि शम्भु यादव घटनास्थलबाट फरार भएका छन् जसका लागि प्रहरीले खोजी तीव्र पारेको छ।
घटनास्थलबाट संकलित प्रमाण र स्थानीयको बयानका आधारमा एक व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। वडाध्यक्षको हत्या प्रकरणमा प्रहरी जवानको नाम जोडिनुले प्रदेशमा कानून–व्यवस्था सम्बन्धी प्रश्नहरू झनै उठेका छन्।















