सभामुख मण्डलद्वारा पाँच सांसद पदमुक्त, मधेश प्रदेशसभा पुनः विवादमा

कार्तिक २७ , जनकपुरधाम। मधेश प्रदेशसभामा चलिरहेको राजनीतिक द्वन्द्वबीच सभामुख रामचन्द्र मण्डलले एकपक्षीय रूपमा पाँच जना सांसदलाई पदमुक्त गरेका छन्।

सभामुख मण्डलले १० वटा बैठकमा अनुपस्थित रहेको आरोप लगाउँदै सांसदहरूको पद खोसेका हुन्। तर स्रोतका अनुसार, यो निर्णय व्यक्तिगत रिसको झोंकमा गरिएको र राजनीतिक प्रतिशोधको स्वरूपमा देखिएको छ।

पदमुक्त गरिएका सांसदहरूमा —

1. उर्मिला देवी सिंह (नागरिक उन्मुक्ति पार्टी)

2. मनिषकुमार सुमन (जसपा नेपाल)

3. संजय कुमार शाह (जसपा नेपाल)

4. सिंहासन शाह कलवार (जसपा नेपाल)

5. शारदाशंकर प्रसाद कलवार (जसपा नेपाल)
शामिल छन्।

संसद सचिवालयका अनुसार, सभामुखले उनीहरूलाई १० बैठक लगातार अनुपस्थित भएको आधारमा प्रदेशसभा नियमावलीको प्रावधान प्रयोग गर्दै पदमुक्त गरेको दाबी गरेका छन्। तर प्रभावित सांसदहरूले सभामुखको कदमलाई पूर्ण रूपमा गैरसंवैधानिक, प्रतिशोधपूर्ण र एकल तानाशाही व्यवहार भएको बताएका छन्।

जसपा नेपालका नेताहरुले भनेका छन्, “सभामुख स्वयंमाथि नै महाभियोग दर्ता भइसकेको अवस्थामा उनको कुनै पनि निर्णय वैधानिक मानिँदैन। यो दुरुपयोग हो, जनमत र विधान दुबैको अपमान हो।”

यस घटनापछि प्रदेशसभाको वातावरण फेरि एकपटक तनावग्रस्त र अराजक बनेको छ। सभामुख मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै उनले यस्तो कदम चालेपछि सात दलका सांसदहरूले सभामुखको तत्काल निलम्बन र केन्द्रको हस्तक्षेप माग गरेका छन्।

यसरी  सभामुख मण्डलको यो कार्यले प्रदेशसभामा संवैधानिक मर्यादा र प्रक्रियाको खुल्लमखुल्ला उल्लङ्घन गरेको संकेत गरेको छ। यसले मधेश प्रदेशको राजनीतिलाई थप संकट र अस्थिरताको दिशातर्फ धकेलेको देखिन्छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more