अविश्वास प्रस्तावपछि प्रदेशसभा तनावग्रस्तः सांसदमाथि हमला, बत्ती निभाइयो, ढोका बन्द

जनकपुरधाम, कार्तिक २७ गते । मधेश प्रदेशसभामा आज अपराह्न अविश्वास प्रस्ताव दर्ता प्रक्रियासँगै अभूतपूर्व कोलाहल र हिंसात्मक घटना भएको छ। सभामुख रामचन्द्र मण्डलमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभा भवनभित्रै हातपात, धकेलाधकेल र बत्ती निभाउनेसम्मको स्थिति सिर्जना भएको हो।

स्रोतका अनुसार, अविश्वास प्रस्ताव दर्ता गर्न गएका सात दलका सांसद र सभामुख पक्षधर नेकपा एमालेका सांसद र कार्यकर्ताबीच तीव्र झडप भएको थियो। सो क्रममा सभामुख मण्डल आफैंले लोसपाका सांसद उपेन्द्र महतो र जनमत पार्टीका सांसद महेश यादवमाथि शारीरिक आक्रमण (पिटाइ) गरेको बताइएको छ।

सभामुखको बचाउमा रहेका एमालेका सांसद र समर्थकहरूले अन्य सात दलका सांसदहरूमाथि समेत दुर्व्यवहार र हातपात गरेको स्रोतको दाबी छ।

स्थिति नियन्त्रण बाहिर जाँदै गएपछि सभामुख सचिवालयका कर्मचारीले सभामुख कक्ष र आसपासका भागको बत्ती निभाइदिएका छन्, जसपछि प्रदेशसभा भवन अन्धकारमा डुबेको थियो। त्यसपछि बाहिर तैनाथ प्रहरीले सचिवालयको ढोका बाहिरबाट ताल्चा लगाइदिएको बताइएको छ।

स्रोतका अनुसार, हाल सात दलका सांसदहरू भित्रै बन्धकजस्तै स्थितिमा रहेका छन्। बाहिर थप सांसद र कार्यकर्ताहरू सभामुखविरुद्ध नारा जुलुस र प्रदर्शनमा उत्रिएका छन्।

प्रदेशसभा सचिवालयमा अहिले प्रहरीको ठूलो फौज परिचालन गरिएको छ। सात दलका सांसदहरूलाई निकाल्न र बाहिरबाट थप भीड प्रवेश गर्न नदिनका लागि सुरक्षाकर्मीको संख्या बढाइएको जनाइएको छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more