कार्तिक २६, जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेश प्रदेशमा भएको नयाँ सरकार गठनप्रति कडा आपत्ति जनाएको छ। पार्टीले नेपालको संविधानको मर्म र भावनाविपरीत नेकपा एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै प्रदेश प्रमुख सुमित्रा भण्डारीको कदम असंवैधानिक र लोकतान्त्रिक मर्यादाविपरीत भएको आरोप लगाएको छ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ —
“नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन गर्न सकिने सम्भावना हुँदाहुँदै पनि उपधारा (३) का आधारमा मुख्यमन्त्री नियुक्त गर्नु पूर्ण रूपमा असंवैधानिक कार्य हो।”
विज्ञप्तिमा भनिएको छ कि प्रदेश प्रमुखको कार्यालयले मधेशमा बहुमतको दावी पेस गर्न पाउँदा पाउँदै एमालेका सरोज कुमार यादवलाई नियुक्त गर्नु संविधानको धज्जी उडाउने कार्य हो।
लोसपाले जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा भवन, र विभिन्न जिल्लाका प्रशासनिक निकायहरूमा भइरहेको आन्दोलनलाई न्यायोचित ठहर गर्दै, आन्दोलनरत कार्यकर्तामाथि भएको प्रहरीले बल प्रयोग र दमनको पनि घोर निन्दा गरेको छ।
विज्ञप्तिमा भनिएको छ — “मधेश प्रदेशका जनता र सातदलीय गठबन्धनको आन्दोलन संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि हो, त्यसलाई दमन गरेर सरकारले गल्ती दोहोर्याएको छ।”
लोसपाले आन्दोलनका क्रममा प्रहरीद्वारा प्रदेशसभा सदस्य शम्भु यादवमाथि गरिएको आक्रमण र घाइते बनाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जिम्मेवार अधिकारीविरुद्ध तत्काल कारबाहीको माग गरेको छ।
साथै पार्टीले घाइते नेता यादवको स्वास्थ्यलाभको कामना गर्दै, प्रदेशमा जारी असंवैधानिक राजनीतिक कदम फिर्ता लिन र लोकतान्त्रिक अभ्यास पुनःस्थापना गर्न प्रदेश प्रमुखलाई आग्रह गरेको छ।

















