कार्तिक २०, काठमाडौ । —जेनजी आन्दोलनपछिको बहुप्रतिक्षीत नयाँ राजनीतिक टिम अब पार्टी दर्ताको तयारीमा जुटेको छ। काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाह, ऊर्जामन्त्री कुलमान घिसिङ, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ र विवेकशील नेपाली पार्टीकी संस्थापक नेतृ रञ्जु दर्शनासहितको टोली नयाँ राजनीतिक शक्तिको औपचारिक घोषणा गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।
विश्वसनीय स्रोतका अनुसार उक्त समूहले पार्टीको नाम “उज्यालो नेपाल” वा “उज्यालो अभियान” मध्ये कुनै एक राख्ने प्रारम्भिक सहमति गरिसकेको छ। पार्टीको अन्तिम नाम र दर्ता मिति भने औपचारिक निर्णयपछि मात्र सार्वजनिक गरिने बताइएको छ।
हाल मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङले पार्टीमा औपचारिक रूपमा आबद्ध हुने वा नहुने निर्णय अन्तिम नहुँदा पार्टी दर्ता प्रक्रिया केही ढिलो भएको बताइएको छ। तर पनि, रञ्जु दर्शनाले दुवै व्यक्तित्वको समर्थन र सहयोग उक्त अभियानलाई रहनेमा पूर्ण विश्वास व्यक्त गरेकी छिन्।
पुरानै राजनीतिक ढाँचाको विकल्प खोजिरहेका जनतासँगै नयाँ सुरुवातको तयारीमा लागेका छन। बालेन र कुलमान जस्ता निष्पक्ष र लोकप्रिय व्यक्तित्वहरूको समर्थन यस अभियानको मुख्य ऊर्जा हुने बताएकाछन।
जेनजी आन्दोलनपछिको यो राजनीतिक अभियानलाई धेरैले “शहरी युवाको राजनीतिक उदय” को रूपमा हेरेका छन्। समाजिक सञ्जालमा समेत “उज्यालो नेपाल” नामले अभियान चलाउन सुरु गरिएको छ।
















