कार्तिक २०, जनकपुरधाम। एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूले पारिश्रमिकसम्बन्धी उठाएको आवाजप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले आन्दोलनरत स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्दै काममा फर्किनुहुन अनुरोध गरेको छ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ —
“निजी क्षेत्रका अस्पतालहरू सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध छन्, र यस सेवाको निरन्तरतामा स्वास्थ्यकर्मीहरूको योगदान अत्यन्तै महत्वपूर्ण रहेको छ।”
विज्ञप्तिमा उल्लेख गरिए अनुसार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८२/०७/१६ को निर्णयअनुसार प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकतामा गठित समिति ले एक महिनाभित्र अस्पतालहरूको वर्गीकरण गरी स्वास्थ्यकर्मीको पारिश्रमिक सम्बन्धी कार्ययोजना तयार गर्ने कार्य अघि बढाएको छ।
संघले उक्त प्रक्रिया पूरा हुने प्रतीक्षामा रहँदै सबै स्वास्थ्यकर्मीहरूलाई आफ्ना अस्पताल व्यवस्थापनसँग आपसी छलफल, सहकार्य र समन्वयका माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो।
संघका अनुसार आन्दोलनका कारण स्वास्थ्य सेवामा असर पर्नु आम जनताको हितविपरीत हुने भएकाले सबै पक्षले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्नेमा जोड दिइएको छ।
विज्ञप्तिमा भनिएको छ —
“स्वास्थ्य सेवा जनजीवनसँग प्रत्यक्ष सम्बन्धित विषय हो। त्यसैले असन्तुष्टि र मागका बीच पनि सेवा अबरुद्ध नहोस् भन्ने हाम्रो सामूहिक जिम्मेवारी हो।”
















