कार्तिक २०, पटना – बिहार। बिहार विधानसभाको पहिलो चरणको निर्वाचनका लागि आज (नोभेम्बर ६, बिहीबार) मतदान भइरहेको छ। यस अवसरमा राज्यभर कडा सुरक्षा व्यवस्था अपनाइएको छ। पहिलो चरणअन्तर्गत १२१ वटा विधानसभा क्षेत्रमा बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म मतदान हुनेछ। निर्वाचन आयोगले आवश्यक सबै तयारी पूरा गरिसकेको छ र मतदानकर्मीहरू ईभीएम र वीभीप्याट मेसिनसहित आफ्ना मतदान केन्द्रहरूमा पुगेका छन्।
पहिलो चरणमा ४५ हजार ३२४ सामान्य र १३ सहायक मतदान केन्द्रहरूमा मतदान भइरहेको छ। यस चरणमा करिब ३ करोड ७५ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्, जसमा १ करोड ९८ लाख पुरुष, १ करोड ७६ लाख महिला र ७५८ तेस्रो लिङ्गी मतदाता छन्।
यस चरणमा १३१४ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्, जसमा १२२ जना महिला उम्मेदवार पनि छन्। आयोगले केही क्षेत्रलाई संवेदनशील मानेको छ, जसमा सिमरी बख्तियारपुर, महिषी, तारापुर, मुंगेर र जमालपुरका सबै मतदान केन्द्रहरू, साथै सूर्यगढ़ा क्षेत्रका ५६ मतदान केन्द्रहरूमा बेलुका ५ बजेसम्म मात्रै मतदान हुनेछ।
पहिलो चरणको चुनावमा ठूला राजनीतिक नेताहरूको प्रतिष्ठा दाउमा छ। विपक्षी नेता तेजस्वी यादव, उपमुख्यमन्त्री सम्राट चौधरी, विजय कुमार सिन्हा लगायत राज्य सरकारका १४ मन्त्रीहरू यस चरणमा प्रतिस्पर्धामा छन्। तीमध्ये विजय कुमार चौधरी, मंगल पाण्डे, रत्नेश सदा, संजय सरावगी, जिबेश मिश्र, मदन सहनी, केदार प्रसाद गुप्ता, राजू कुमार सिंह, सुनील कुमार, कृष्ण कुमार मंटू, महेश्वर हजारी, डा. सुनील कुमार, श्रवण कुमार र नितिन नवीन सामेल छन्। साथै जदयूका प्रदेश अध्यक्ष उमेश कुशवाहा र रालोमोका अध्यक्ष मदन चौधरीको सिटमा पनि मतदान भइरहेको छ।
पार्टीगत हिसाबले हेर्दा, इण्डिया गठबन्धनतर्फ राजदले ७३, कांग्रेसले २४, भाकपा मालेले १४, भाकपा ५, माकपा ३, वीआईपी ५ र आईआईपी ३ सिटमा उम्मेदवार उतारेका छन्। उता एनडीए गठबन्धनतर्फ जदयू ५७, भाजपा ४८, लोजपा (रा.) १४ र रालोमो २ सिटमा चुनाव लड्दै छन्। नयाँ दल जनसुराज पार्टीले यस चरणमा ११९ सिटमा र एआईएमआईएमले ८ सिटमा प्रतिस्पर्धा गरिरहेको छ।
सबै मतदान केन्द्रमा लाइभ वेबकास्टिङ
निर्वाचन आयोगले पहिलो चरणका सबै मतदान केन्द्रहरूमा लाइभ वेबकास्टिङमार्फत निगरानी गरिरहेको छ। मतदानको प्रत्येक गतिविधिको प्रत्यक्ष प्रसारण आयोगले बनाएको कन्ट्रोल रुममा भइरहेको छ। आयोग र राज्य निर्वाचन अधिकृत कार्यालयले मतदाताको गतिविधिमा कडा नजर राखेको छ।
सबैभन्दा कम मतदाता भएको क्षेत्र बरबिघा र सबैभन्दा बढी मतदाता भएको क्षेत्र दीघा विधानसभा क्षेत्र हो।
सुरक्षा व्यवस्था
पहिलो चरणको मतदानका लागि ४५ हजार ३४१ मतदान केन्द्रहरूमा सशस्त्र बलको तैनाथी गरिएको छ। निर्वाचन आयोगले कानून–व्यवस्थामा कडाइ गर्न निर्देशन दिएको छ र राज्यको नेपाल तथा अन्य सीमावर्ती प्रदेशहरूसँगको सिमाना सील गरिएको छ। १५०० भन्दा बढी केन्द्रीय सुरक्षा बलका कम्पनीहरू र ४.५ लाख भन्दा बढी सुरक्षाकर्मीहरू परिचालनमा छन्। साथै सामाजिक सञ्जालमार्फत पनि असामाजिक तत्वमाथि कडा निगरानी गरिएको छ।
मतदाताका लागि व्यवस्था
मतदाता निजी सवारीसाधनमा मतदान केन्द्र भवनसम्म जान सक्नेछन् तर भवनभित्र प्रवेश गर्न नपाउनेछन्। राजनीतिक दलहरूले बूथको बाहिर १०० मिटरको दूरीभित्र मतदाता पर्चा वितरण शिविर राख्न पाउनेछन् (पहिले यो दूरी २०० मिटर थियो)। हरेक मतदान केन्द्र भवनमा मतदाता सहायता कक्ष राखिएको छ, जहाँ बीएलओ अधिकारीहरू उपस्थित छन्।
यी जिल्लामा मतदान
मधेपुरा, सहरसा, दरभंगा, मुजफ्फरपुर, गोपालगंज, सीवान, सारण, वैशाली, समस्तीपुर, बेगूसराय, खगडिया, मुंगेर, लखीसराय, शेखपुरा, नालंदा, पटना, भोजपुर र बक्सर जिल्लामा आज मतदान भइरहेको छ।

















