कार्तिक १९, काठमाडौ । विशेष अदालतले आफ्नै कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। अदालतले बुधबार जिल्ला प्रहरी परिसर, काठमाडौँमा उक्त जाहेरी दर्ता गरेको हो।
अदालतका अनुसार भदौ २३ गते दिउँसो करिब ३ बजे आन्दोलनकारी समूहले अदालतको भवनमा तोडफोड र आगजनी गरेको थियो। सो क्रममा भवन र सामग्रीमा करिब ६ करोड ८८ लाख २८ हजार रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
अदालत स्रोतका अनुसार, तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको भिडियो र फोटो प्रमाणसहित जाहेरी प्रहरीमा बुझाइएको छ। “अब प्रहरीले तिनलाई खोजी गरी कानुनी कारबाही गर्नेछ,” स्रोतले भन्यो।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अधिकारीले पनि जाहेरी प्राप्त भएको र हाल अध्ययन भइरहेको जनाएका छन्। प्रहरीले घटनामा संलग्नहरू पहिचान गर्न आवश्यक अनुसन्धान अघि बढाएको बताइएको छ।


















