कार्तिक १६, काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग बैठक आह्वान गरेकी छन्। बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार, बैठकको उद्देश्य संघीय शासन प्रणालीको वर्तमान अवस्थाबारे समग्र मूल्याङ्कन गर्दै संघ र प्रदेश सरकारबीचको संवाद तथा सहकार्यलाई थप सुदृढ बनाउनु रहेको छ।
बैठकमा सहभागी हुने मुख्यमन्त्रीहरूमा कोशी प्रदेशका हिक्मतबहादुर कार्की, मधेश प्रदेशका जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह रहेका छन्।
बैठकमा हालको राजनीतिक स्थिति, बजेट कार्यान्वयनको अवस्था, विकास योजनाको समन्वय, र संघीय सन्तुलनका चुनौतीहरूबारे पनि विस्तृत छलफल हुने बताइएको छ।
प्रधानमन्त्री कार्कीले हालै विभिन्न संघीय निकायबीचको कार्यसमन्वयमा देखिएका कमजोरी र दोहोरोपनलाई सम्बोधन गर्दै प्रदेश सरकारहरूसँग प्रत्यक्ष संवाद गर्ने पहल थालेकी हुन्। आजको बैठकबाट संघ–प्रदेश सम्बन्धलाई थप स्पष्ट दिशामा लैजाने अपेक्षा गरिएको छ।
















