मेयर बालेन शाहको विवादास्पद फेसबुक स्टाटसपछि चर्को आलोचना

कार्तिक १६, काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह पुनः विवादमा तानिएका छन्। राजधानीका जनताले आशा र भरोसाका साथ समर्थन गरेका मेयर शाह आफ्नै अशोभनीय अभिव्यक्तिका कारण अहिले तीव्र आलोचनाको घेरामा परेका छन्।

गएराति बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसले व्यापक प्रतिक्रिया र विवाद निम्त्याएको छ। उक्त स्टाटसमा उनले भारत, चीन, अमेरिका लगायतका देशहरूप्रति अश्लील र आपत्तिजनक शब्द प्रयोग गरेका थिए। त्यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाको नामसमेत उल्लेख गर्दै अपशब्द प्रयोग गरेको भन्दै सर्वत्र आलोचना भएको छ।

स्टाटसमा उनले “तिमीहरू सबै मिले पनि के गर्न सक्दैनौं” भन्ने वाक्यांश लेखेका थिए, जसपछि केही समयमै उनले उक्त पोस्ट हटाएका थिए। तर सो स्टाटसको स्क्रिनसट सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

हालै बालेन शाह नयाँ राजनीतिक दल खोल्ने कि रास्वपाबाटै राजनीति गर्ने भन्ने दोधारमा रहेको चर्चा चलिरहेका बेला उनले रास्वपाको नामसमेत अपमानजनक रूपमा उल्लेख गरेपछि रास्वपासँगको सम्बन्ध चिसिएको अड्कलबाजी गरिएको छ।

फेसबुकमा गरिएको उक्त टिप्पणीप्रति सामाजिक सञ्जालभर तीव्र आलोचना र असन्तुष्टि व्यक्त गरिएको छ। धेरैले सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो पदको मर्यादा र संयम कायम राख्नुपर्ने भन्दै मेयर शाहको व्यवहारप्रति प्रश्न उठाएका छन्।

आलोचकहरूका अनुसार, मेयरजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट यस्तो अशोभनीय र आपत्तिजनक अभिव्यक्ति राष्ट्रको प्रतिष्ठा र लोकतान्त्रिक संस्कारविपरीत रहेको छ। कतिपयले बालेनको क्रोध र असन्तुलित अभिव्यक्तिलाई उनकै राजनीतिक भविष्यका लागि हानिकारक भएको टिप्पणी गरेका छन्।

यता, मेयर शाहका समर्थकहरूले भने उनको स्टाटसलाई भ्रष्ट राजनीतिप्रति आक्रोशको अभिव्यक्ति भन्दै बचाउ गरेका छन्। तर, यथार्थ जे भए पनि, बालेन शाहको यो कदमले फेरि एकपटक राजधानीको नेतृत्व शैली र राजनीतिक मर्यादामाथि गम्भीर बहसको वातावरण सिर्जना गरेको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more