कार्तिक १२, जनकपुरधाम। जल तथा मौसम विभागले जारी गरेको चेतावनीपछि मधेस प्रदेशमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ। बिहीबारदेखि शनिबारसम्म प्रदेशभर मध्यमदेखि अति भारी वर्षा हुने पूर्वानुमानसँगै जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित क्षेत्रमा सर्न प्रदेश सरकारले आग्रह गरेको छ।
बुधबार प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बसेको प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल (पूर्व सोनार) ले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अलर्ट रहन निर्देशन दिएका छन्।
मुख्यमन्त्री सोनल र सुरक्षा निकायका प्रमुखहरू सहभागी बैठकले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ बिहीबार दिउँसो नेपाल प्रवेश गर्ने भएकाले त्यसबाट जोगिन सर्वसाधारणलाई सचेत रहन र सुरक्षित स्थानमा बस्न अपिल गरेको छ।
मुख्यमन्त्री सोनलले भने, “प्रदेश सरकार विपद् जोखिम न्यूनीकरणका लागि अधिकतम प्रयास गर्नेछ र आफूसँग रहेका सम्पूर्ण जनशक्ति तथा स्रोत परिचालन गर्ने निर्णय गरेको छ।”
उनका अनुसार बागमती, रातो, लखनदेही, कमला र सप्तकोशी नदी किनारका बस्तीहरू उच्च जोखिममा रहेका छन्। सोनलले नदी किनार र डुबानमा पर्ने क्षेत्रका बासिन्दालाई तत्काल उच्च स्थानमा रहेको सार्वजनिक भवन वा सुरक्षित क्षेत्रतर्फ सर्न आग्रह गरे।
मुख्यमन्त्रीले थपे, “नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका विपद् उद्धार टोली तयारी अवस्थामा छन्। आवश्यक पर्ने डुंगा, लाइफ ज्याकेट, उद्धार सामग्री र जनशक्ति परिचालन गरिएका छन्। संघ र स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको छ।”
साथै उनले किसानहरूलाई केही दिन धानबाली नकटाउन र काटिसकेको धान भए तत्काल घरभित्र सुरक्षित राख्न आग्रह गरे। “अहिलेको अवस्था सामान्य छैन, तर समयमै सतर्कता अपनाएमा ठूलो क्षति हुनबाट जोगिन सकिन्छ,” उनले भने।
मुख्यमन्त्री सोनलले गैरसरकारी संस्था र स्थानीय निकायहरूलाई पनि सक्रिय भई जनचेतना फैलाउन र विपद् जोखिम घटाउने कार्यमा सहकार्य गर्न अनुरोध गरे।
प्रदेश सरकारले सम्भावित विपद्का जोखिमलाई ध्यानमा राख्दै तीनै तहको टेक्निकल म्यानपावर परिचालन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्रीले प्रदेशवासीहरूलाई “उच्च सतर्कता अपनाउन र सरकारी सूचना नियमित रुपमा पालना गर्न” आग्रह गर्दै बाढी–पहिरो जोखिम क्षेत्रमा तत्काल सुरक्षित स्थानमा सर्न पुनः अपिल गरे।
















