१० कात्तिक, जनकपुरधाम। आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ अर्पण गरिँदैछ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्वको समापन गरिनेछ।
सरकारले आज सार्वजनिक बिदा दिएको छ। ब्रतालुहरू आज रातभर जाग्राम बसेर भोलि बिहान सूर्य आराधनामा जुट्ने छन्। जनकपुरधामका पवित्र सरोवर गँगासागर, धनुष सागर, महराज सागर, अँगराज सागर लगायत राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी र कुपण्डोललगायत स्थानमा पूजास्थल निर्माण गरिएको छ।
पहिले तराईमा सीमित यो पर्व अहिले पहाड र हिमाली क्षेत्रमा समेत व्यापक रूपमा मनाइँदै आएको छ, जसले सामाजिक एकता र सद्भाव बलियो बनाएको छ।
विश्वास गरिन्छ कि छठ व्रत विधिपूर्वक गरे मनोकामना पूरा हुन्छ, परिवारमा सुख–समृद्धि आउँछ र दुःख–कष्ट हट्छ। व्रतालुहरूले कार्तिक शुक्ल चतुर्थीदेखि सात्विक भोजन मात्र ग्रहण गरी पवित्र रूपमा यो पर्व मनाउने गर्छन्।
















