असोज १३, काठमाडौ । उद्योग, भूमि तथा कानून मन्त्री माननीय अनिल सिन्हासँग आज भएको छलफलमा प्रदेश र जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूबारे व्यापक कुराकानी भएको छ। छलफलमा उद्योग पुनर्जीवन, भूमिहीन सुकुम्बासी, सहकारी पीडित, कृषक अधिकारदेखि सहिद परिवारसम्मका विषय प्रमुख एजेण्डा बनेका छन्।
मन्त्री सिन्हाले जनकपुर चुरोट कारखाना सञ्चालनका लागि आवश्यक अनुसन्धान अघि बढाउने प्रतिबद्धता जनाएका छन्। लामो समयदेखि ठप्प अवस्थामा रहेको यस उद्योग पुनः सञ्चालनमा आए रोजगारीका नयाँ अवसर सिर्जना हुने र प्रदेशको औद्योगिक पूर्वाधार सबल बन्ने अपेक्षा गरिएको छ।
भूमिहीन सुकुम्बासीको समस्यालाई प्राथमिकतामा राख्दै उनले दीगो समाधानका लागि सरकारी संयन्त्रलाई सक्रिय बनाइने बताए। सहकारी पीडितहरूको मुद्दा तत्काल सम्बोधन गर्ने विषयमा पनि छलफल भएको छ, जसले हजारौं पीडित सर्वसाधारणलाई राहत दिलाउने विश्वास दिलाइएको छ।
उखु किसानहरूको अनुदान रकम रु.७० भन्दा माथि लैजान पहल गर्नेबारे समेत छलफलमा जोड दिइएको छ। यसले किसानलाई प्रत्यक्ष लाभ पुर्याउने र कृषिजन्य उत्पादनमा आत्मनिर्भरता बढाउने विश्वास गरिएको छ।
त्यसैगरी, वीरगञ्ज औजार कारखानाको व्यवस्थापन सुधार गरी थप प्रभावकारी बनाउने योजना पनि छलफलमा प्रस्तुत भएको छ।
सहिद परिवारको अवस्थाबारे अध्ययन गरी उनीहरूलाई रोजगारीका अवसर दिने प्रतिबद्धता मन्त्री सिन्हाले व्यक्त गरे। यसले सहिद परिवारलाई सम्मानजनक जीवनयापनमा टेवा पुर्याउने उनको भनाइ छ।छलफलमा उठाइएका यी मुद्दाहरू कार्यान्वयनमा गए प्रदेशस्तरमा दीगो आर्थिक, सामाजिक र औद्योगिक सुधार हुने अपेक्षा गरिएको छ।















