असोज १४, जनकपुरधाम । बडादशैंको महाअष्टमी पर्व आज देशभर श्रद्धा र भक्ति भावसहित मनाइँदैछ । धार्मिक परम्पराअनुसार महाअष्टमीका दिन देवी दुर्गाको महागौरी स्वरूपको पूजा–अर्चना गरिन्छ । यस अवसरमा विशेषगरी माता गौरिको आराधना गरी परिवार, समाज र राष्ट्रको शान्ति, समृद्धि र सुख–शान्तिको कामना गरिन्छ ।
जनकपुरधामस्थित सुप्रसिद्ध माता राजदेवी मन्दिरमा आज बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेको छ । पूजाअर्चना गरी प्रसाद चढाउने र महिलाहरुले खोइछ भर्नेहरूको भीड निरन्तर बढिरहेको छ । भक्तजनहरू आ–आफ्ना घरपरिवारसहित मन्दिरमा पुगेर दर्शन, आरती र चढावा गर्ने क्रम जारी छ ।
महाअष्टमीको विशेष दिनमा बलि चढाउने परम्परा पनि रहँदै आएको छ । राजदेवी मन्दिर परिसरमा आज बेलुका ८ बजेपछि बलि प्रदान गरिने महावीर युवा कमिटीले जनाएको छ । कमिटीका अनुसार बलिप्रदानको सम्पूर्ण तयारी पूरा भइसकेको छ र भक्तजनको सुरक्षासहित व्यवस्थापनमा स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ ।
महाअष्टमीलाई दुर्गा पूजाको सर्वाधिक महत्वका दिनमध्ये एक मानिन्छ । देवीलाई शक्तिको प्रतीकका रूपमा आराधना गर्दै भक्तजनले आफ्नो जीवनबाट दुःख–दारिद्र्य हट्ने विश्वास राख्ने गर्दछन् ।
जनकपुरधाम मात्र नभई देशभरका शक्तिपीठहरूमा आज विशेष पूजा, आरती र बलि कार्यक्रम हुँदैछ । बिहानदेखि नै मन्दिर परिसरमा भक्ति संगीत गुन्जिएको छ भने पूजाअर्चनामा सहभागी हुन श्रद्धालुहरूको लाम लागिरहेको छ ।















