असोज १३, जनकपुरधाम। बडादशैँको सप्तमीका दिन आज कालरात्री देवीको पूजा–अर्चना गरी देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ।
नवरात्रको सातौँ दिन कालरात्री देवीको विशेष आराधना गर्ने प्रचलन रहिआएको छ। शास्त्रीय मान्यताअनुसार कालरात्री देवीलाई शक्तिको मूर्तरूप मानिन्छ र उहाँको पूजा गरे भय, शोक, दुःख, रोग तथा दरिद्रता नष्ट हुने विश्वास गरिन्छ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कालरात्री देवीले रात्रीको अन्धकारलाई नाश गरी भक्तलाई प्रकाश र सत्यतर्फ अग्रसर गराउने शक्ति प्रदान गर्नुहुन्छ। उहाँको स्वरूप अत्यन्त उग्र भए पनि भक्तका लागि शुभ फल दिने देवीका रूपमा वर्णन गरिएको छ।
आजका दिन बिहानैदेखि विभिन्न मन्दिर र शक्तिपीठहरूमा भक्तजनको भीड लागेको छ। जनकपुरधाम को राजदेवी मन्दिरमा कालरात्रीको विशेष पूजा तथा भव्य श्रिङ्गार् को आयोजना गरिएको छ।
नवरात्रको प्रत्येक दिन देवीका फरक–फरक रूपहरूको पूजा गर्ने परम्परा अनुसार विगत छ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता र कात्यायनी देवीको पूजा भइसकेको छ। भोलि अष्टमीका दिन महाकालीको विशेष पूजा हुनेछ भने नवमीमा दुर्गा भवानीको बलिदान र आराधना गर्ने परम्परा छ।
दशैँ केवल धार्मिक उत्सव मात्र नभई परिवारजन भेला भएर एकताबद्ध हुने, संस्कार र परम्परा जोगाउने तथा समाजमा सामूहिकता अभिव्यक्त गर्ने पर्वका रूपमा पनि मनाइन्छ।
















